नेपालगन्ज : खजुरामा रहेको शुसील कोइराला प्रखर क्यान्सर अस्पताल करार कर्मचारीका भरमा जेनतेन चलिरहेको छ । अस्पतालाई करिब २५ जना विशेषज्ञ चिकित्सकसहित कुल २ सय ५ जना जनशक्ति आवश्यक छ । तर, सरकारले अहिलेसम्म आवश्यक जनशक्ति दिन सकेको छैन ।
करारसहित करिब ३५ जना कर्मचारीले अस्पताललाई धानेका छन् । कर्मचारी दरबन्दी स्वीकृत गरिदिन मन्त्रालयलाई अनुरोध गरिएपनि मन्त्रालयले कुनै चासो देखाएको छैन् । मन्त्रालयमा दरबन्दी माग गरि पत्र पठाईएको छ अस्पतालका कार्यकारी प्रमुख डाक्टर विश्वराम पौडेलले भने, ‘तर, अहिलेसम्म दरबन्दी पाएका छैनौ ।’ दरबन्दी स्वीकृती र बजेट अभावकै कारण अस्पताल सञ्चालनमा एकदमै समस्या भईरहेको उनी बताउँछन् । अस्पतालमा पुर्वाधार सबै छन् । दरबन्दी र बजेट अभावका छ उनले भने ‘दुई जना विशेषज्ञ चिकित्सक, फिजिसियन र सर्जन १/१ जना, मेडिकल अफिसर दुई जना र ७ जना स्टाफ नर्स कार्यरत छन् । स्टाफ नर्स कम्तिमा ४५ जना अस्पताललाई आवश्यक छ ।’
जनशक्ति अभावकै कारण अस्पतालले रेडियोलोजी (रेक्सरे बाहेक) र रेडियसन, सर्जरी, भिडियो एक्सरे, हिष्टो प्याथोलोजी सेवा सञ्चालनमा ल्याउन सकेको छैन् । अस्पतालले ओपिडी, एक्सरे, सामान्य प्याथोलोजी, फार्मेसी, केमोथेरापी सेवा भने सञ्चालन गरिरहेको छ । अत्याधुनिक अप्रेसन थियटर (मोडुलर ओटी) तयारी अवस्थामा रहेपनि सञ्चालनमा छैन । ‘विशेषज्ञको दरबन्दी अहिलेसम्म स्वीकृत भएको छैन, ओपिडीमा सामान्य काउन्सिलिङको काम मात्रै गरिन्छ उनले भने ‘क्यान्सरको पहिचान गर्न विशेषज्ञ दरबन्दी बिना सम्भव छैन् ।’
अस्पतालमा जनशक्ति र बजेटको ब्यवस्था गरिदिन पटक–पटक आग्रह गरिसकेको संस्थापक अध्यक्ष एवम् खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति बताउँछन् । अस्पतालसँग पर्याप्त जनशक्ति छैन, बजेट नहुँदा कतिपय मेसिन जडान भएका छैनन उनले भने ‘सिटी स्क्यान मेसिन जडानका लागि टेण्डर खोलिएको र रेडियोलोजी तथा रेडियसन भवन अन्तिम चरणमा रहेको अस्पताले छ ।’ प्रखर परोपकार मिसन नेपालले क्यान्सर अस्पताल सञ्चालनका लागि महायज्ञ सञ्चालन गरी ५ करोड २६ लाख र संस्थाको तीन करोड २६ लाख रुपैयाँबाट अस्पताल पूर्वाधार निर्माण एक दशक अघि थालनी गरेको थियो ।
अहिलेसम्म पूर्वाधार निर्माणका लागि २७ करोड बजेट सहयोग गरेपनि उक्त बजेट निकासा हुन सकेको छैन् । गुरूयोजना अनुसार अस्पतालमा पुर्ण सेवा सुचारू गर्न ८५ करोड भौतिक पुर्वाधारमा लाग्ने अनुमान गरिएको छ । अस्पतालमा फ्लोअपमा आउने गरेका सामान्य बिरामीलाई मात्र काउन्सिलिङ गर्ने गरिएको छ । विशेषज्ञ चिकित्सक नहुँदा गम्भिर प्रकृतिका बिरामीलाई चितवन रेफर गर्नुको विकल्प नभएको अस्पताल बताउँछ ।