नेपालगन्ज: तीन वटा प्रदेशका इन्जिनियरलाई कंक्रिट ब्रिज डिजाईन अन्तरगत लिमिट स्टेट मेथडको बारेमा नेपालगन्जमा अनुशिक्षण दिइएको छ।
पहिला प्रयोगमा आएको इन्डियन रोड कँग्रेस (आइआरसी–११२) र आइआरसी–१८ लाई विस्थापित गर्न स्थानीय सडक पुल सहयोग इकाई (एलआरविएसयू) ले सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ का ४३ जना इन्जिनियरलाई नयाँ कोडको बारेमा अनुशिक्षण दिएको एलआरविएसयू प्रदेश ५ का प्रादेशिक पुल प्रवन्धक रविन्द्र तन्दुकारले जानकारी दिए ।
चार दिनसम्म चलेको अनुशिक्षणमा सडक र पुल निर्माण गर्दा डिजाइन सम्बन्धि नयाँ चलन चल्तीको कोड आइआरसी–११२ र आइआरसी–६ को बारेमा इन्जिनियरलाई जानकारी गराइएको उनले बताए ।
एलआरविएसयूका डेपुटी टिम लिडर शकील मानन्धर र व्रिज डिजाइन इन्जिनियर रञ्जन मानन्धरले सहजीकरण गरेको अनुशिक्षणमा तीन वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय, अन्तरगतका पूर्वाधार निर्देशनालय, जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख तथा इन्जिनियर र स्थानीय सडक, पुल सहयोग इकाईमा कार्यरत व्रिज इन्जिनियर, इन्जिनियर तथा निजी कन्सल्टेन्ट इन्जिनियर सहभागी थिए ।
तालिमबाट नयाँ डिजाइन गर्दा अपनाउने नयाँ प्रविधि र विधीको बारेमा जानकारी पाएको पूर्वाधार विकास कार्यालय, बैतडीका इन्जिनियर जगतप्रसाद जोशीले बताए । उनले नयाँ प्रविधिले पूरानो प्रविधिलाई विस्थापित गर्ने बताउँदै समय–समयमा यस्ता अनुशिक्षण आवश्यक भएको औँल्याए ।