हात्तिपाईलेमा करोडौं लगानी, पहिचानबिनै औषधी सेवन


हात्तिपाईलेमा करोडौं लगानी, पहिचानबिनै औषधी सेवन

नेपालगन्जः सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ । यसका लागि वार्षिक करोडौं रकम खर्च हुँदै आएको छ । तर, सरकारसँग यस्ता बिरामीको यकिन तथ्याकं छैन् । सरकारले यो औषधी बिरामीको पहिचान नै नगरी सबैलाई अनुमानको भरमा सेवन गराउँदै आएको छ ।

लक्षण देखिएका बिरामीको यकिन तथ्यांकसमेत पत्ता लगाउन नसकेकाले सरकारले सन् २०२० सम्म मुलुकमा हात्तीपाइले निवारण गर्न बोकेको लक्ष्य सफल हुने शंका उत्पन्न भइरहेको छ ।

सरकारले हात्तिपाईले रोगको निवारणका लागि बाँकेमा पनि वर्षेनी करोडौंको लगानी गरेको छ । तर, लगानी अनुसार प्रतिफल भने हाँसिल हुन सकेको देखिदैन् । यो वर्ष मात्रै बाँकेमा पौन दुई करोड हात्तिपाईले रोग विरूद्धको औषधी खुवाउने कार्यक्रममा विनियोजन गरिएको छ ।

सरकारले हात्तीपाइलेको अभियान सञ्चालन गरेको जिल्लाका विरामीलाई वर्षमा एक पटक ६ वर्षसम्म दुई प्रकारका औषधि डीईसी र अल्बेन्डाजोल खुवाउँदै आएको छ । यो औषधी हालसम्म ६३ जिल्लाका १० करोडभन्दा बढीले सेवन गरिसकेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

औषधी बिरामीको पहिचान नै नगरी सबैलाई अनुमानको भरमा सेवन गराउँदै आएको देखिएको छ । अहिले पनि बाँकेमा १० प्रतिशत हात्तिपार्यले रोगका विरामी रहेको सरकारी तथ्याकं छ । नेपालगन्ज उपमहानगरपालिकाकै वडाहरूमा रहेको नागरिकले औषधी सेवन नगर्ने गरेको भेटिएको छ ।

औषधी सेवनका लागि सरकार वा जनस्वास्थ्य कार्यालयले पनि स्थानीय तहमा सचेतनात्मक कार्यक्रम गर्न सकेको छैन् । यस अघिका वर्षमा पनि यहि हाराहारीमा बजेट खर्च हुँदै आएको जनस्वास्थ्य कार्यालय बाँकेको रेकर्डले देखाउँछ । विगत नौं वर्षदेखि बाँकेमा उक्त रोग निवारणका लागि सरकारले लगानी गर्दै आएको जनस्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह बताउँछन् ।

मोटामोटी दश वर्षको हिसाबलाई निहाल्दा यो बर्षसहित सरकारले बाँकेमा मात्रै करिब २० करोड खर्च गरिसकेको छ । तर, बाँकेमा हात्तिपाईलेका विरामीको संख्या र अवस्थामा खासै सुधार आएको देखिदैन् । बाँके अहिले पनि हात्तिपाइलेको उच्च जोखिमै सूचीकृत छ ।

यो वर्ष माघ महिनाको २५ गतेदेखि बाँकेमा १०औं पटक हात्तिपाइले रोग विरूद्धको औषधी खुवाउँने कार्यक्रम रहेको छ । यसका लागि तीन तहबाट खर्चको व्यवस्थापन गरिएको छ ।

संघीय सरकार, प्रदेश सरकार र बाँकेका स्थानीय तहले गरी यो बर्ष पौने दुई करोड खर्च गर्न लागेका कार्यालयका जनस्वास्थ्य अधिकृत अंगत शाही बताउँछन् । उनकाअनुसार वर्षेनी बाँकेमा यस रोग विरूद्ध औषधी खुवाउँदै आईएको छ । सरकारले करोडौं खर्च गरेको छ । तर, लक्ष्यअनुसार उपलब्धी नहूँदा सरकारको लगानी वालुवामा पानी झै बनेको छ ।

उनकाअनुसार आम औषधी वितरण कार्यक्रम अन्तर्गत अहिले बाँकेमा ६ लाख एक हजार आठ सय ७६ जनसंख्यालाई खुवाईने भएको छ । यसका लागि चार सय १६ जना स्वास्थ्यकर्मी र सात सय ८९ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ ।

यस वर्ष प्रस्तावित लुम्बिनी प्रदेशका बाँके, दाङ, बर्दिया र कपिलबस्तु सहित देशभरका १३ जिल्लामा हात्तिपाईले रोग विरूद्धको औषधी खुवाउने कार्यक्रम रहेको छ ।

सरकारको यही चालले सन् २०२० हात्तीपाइले निवारण गर्ने सरकारी योजना असफल हुनसक्ने विज्ञहरु बताउँछन् । हात्तीपाइले रोग निवारण घोषणा गर्न विरामीको संख्या एक प्रतिशतभन्दा कम हुनुपर्छ । अहिले देशभर करिब ३० हजार हात्तिपाइलेका बिरामी रहेको ईपिडिमियोलोजी तथा रोग निणन्त्रण महाशाखा नै बताउँछ ।

सरकारले ६३ जिल्लामा यस रोगको औषधी खुवाई सकेको छ । नेपालमा सन् २००३ बाट औषधी खुवाउन सुरू गरेको थियो । सरकारले सन् २०२० मा हात्तीपाइले रोग नेपालबाट निवारण गर्ने सरकारी लक्ष्य लिएको छ । तर, लक्ष्य अनुसार नै निवारण हुने आधारहरु भने देखिदैनन् ।

सरकारले करोडौं खर्च गरे पनि नेपालगन्ज उपमहानगरपालिकामा ठूलो संख्याले औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान नै ‘फेल’ भइरहेको छ । २०६७ देखि बाँकेमा हात्तीपाईले रोगविरुद्ध औषधी खुवाउने कार्य चल्दै आएको छ । अभियान सञ्चालन गर्नुपुर्व २०६६ सालमा साविकको रझेना गाविसको ६ र ७ वडामा १ सय १ जनाको रगत जाँच गर्दा २१ जनामा अर्थात २१ प्रतिशतमा यो रोग देखा परेको थियो ।

पहिलो चरणमा भएका केही गल्तीले गर्दा दोस्रो चरणदेखि जिल्लावासीले औषधी खान कम गरिदिएका थिए । दोस्रो वर्ष ४७.४३ प्रतिशतमा झरेको थियो । त्यसपछि ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशत र सन् २०१९ मा ५४.९८ प्रतिशतले औषधी खाएका थिए ।

थप समाचार

औषधी खुवाउनै कठिन