कारकाँदोमा नि:शुल्क स्वास्थ्य शिविर


कारकाँदोमा नि:शुल्क स्वास्थ्य शिविर

नेपालगन्ज: शहिद दिवसको अवसरमा नेपालगन्जको कारकाँदोमा विशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नेपालगन्ज–१८ मा पर्ने कारकाँदोको लग्दहवा माविमा विहानदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पौरखी बहुउद्देश्यीय सहकारी संस्थाले शिविरको आयोजना गरेको हो ।

शिविरमा फिजिसियन सेवा, आँखा, कान, दात र कान परीक्षण तथा सुगर र पे्रसर परीक्षण गरिएको छ ।

शिविरमा आँखा रोग विशेषज्ञ डाक्टर प्रचण्ड गौतम, डाक्टर रजनी शाहलगायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा दिएका छन् ।
शिविरको उद्घाटन गर्दै वडाध्यक्ष दीपक बर्माले जनताले घरआँगनमै निःशुल्क स्वास्थ्य जाँच गराएर पौरखीले जनतामुखी कार्यक्रम गरेको बताए । वडाध्यक्ष बर्माले जनताले प्रत्यक्ष सेवा पाउने यसप्रकारको कार्यक्रममा हातेमालो गर्न तयार रहेको बताए ।

पौरखीले अघिल्लो वर्षहरुमा पनि स्वास्थ्य शिविर आयोजना गरेको थियो । सहकारीका अध्यक्ष हरिप्रसाद तिमिल्सेनाले गतवर्ष साढे पाँच सय बढीलाई सेवा दिएको जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका अंगदबहादुर शाही, मावि लग्दहवाका प्रधानाध्यापक दीपक चेम्जोङ, पौरखीका उपाध्यक्ष शान्तिराज रेग्मी, सल्लाहकार कमानसिंह बोहरा, बचत तथा ऋण जिल्ला सहकारीका अध्यक्ष प्रकाश ज्ञवाली, व्रिनोजका दीपक बिसीलगायतले आफ्नै ठाउँबाट निःशुल्क स्वास्थ्य जाँच गर्न पाउनु अति राम्रो कार्य भएको बताए ।