नेपालगन्ज : समग्र राष्ट्रको उन्नतीका लागि विज्ञान नीति तहगतरुपमै अविलम्वन गरिनुपर्ने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले बताएकाछन् ।
विज्ञान र प्रविधिको माध्यमबाट समग्र राष्ट्रको उन्नती हुने भन्दै उनले नीतिगत तहमा यसको आवश्यकता महसुस नगरिएसम्म विज्ञान र प्रविधिको विकास सम्भव नहुनेमा जोड दिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)द्वारा नेपालगन्जमा मङ्गलबार गरिएको ‘नवप्रवर्तनः प्रणाली, सूचाङक र प्रयासहरु सम्बन्धी परामर्श’ गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अनुसन्धान गरिने थलोलाई राजनीति गर्ने थलो बनाईयो, अव राजनीति होइन विज्ञान र प्रविधिको विकासमा लाग्नुपर्छ,’ मन्त्री रावलले भने ।
उनले दक्ष र प्राविधिक जनशक्ति बाहिरिने परिपाटीको अन्त्य गर्न राज्यले ठोस लगानीमैत्री वातावरण निर्माण गरि राष्ट्रिय विकास तथा समृद्धिको प्रयासमा मूलप्रवाहीकरण गराउन तहगतरुपमा प्रभावकारि कदम चाल्नुपर्ने औल्याए ।
नास्टका सह–प्राज्ञ डाक्टर जगतकुमार श्रेष्ठको सभापतित्वमा भएको गोष्ठिमा कार्यक्रममाथि प्रकाश पार्दै नाष्टका प्रविधि संकाय प्रमुख डाक्टर रविन्द्रप्रसाद ढकालले विज्ञान र प्रविधि राज्यद्वारा सधैं ओझेलमा पारेको बताए ।
उनले भने विज्ञान र प्रविधिमा लगानी मैत्री वातावरण छैन, नवप्रवर्तनकारुपमा सरकार खर्च गर्न डराउँछ तर, हाम्रो गुणस्तरमा भने कमी छैन । उनले भने –‘विज्ञान र प्रविधिमा नेपाल विश्वमै १ सय ९ औं स्थानमा छ, यो गौरवको विषय हो ।
प्रविधियुक्त समाज अघि बढिरहेको अवस्थामा विज्ञान र प्रविधिमैत्री वातारवरण निर्माण हुनसकेको छैन, बजेट पनि विनियोजन त्यो अनुरुप हुनसकेकोछैन ।
प्रस्तावित लुम्विनी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशका विभिन्न क्षेत्रमा अनुसन्धानमा लागेका अनुसन्धानकर्ता, विज्ञानका शिक्षक, विद्यार्थी, प्रध्यापकलागयतको परामर्श गोष्ठिमा सहभागिता रहेको थियो ।
परामर्श गोष्ठिमा नास्टका सह–प्राज्ञ डाक्टर जगत कुमार श्रेष्ठले राष्ट्रिय नवप्रवर्तन सूचांकको परिचय, अन्तराष्ट्रिय तथा राष्ट्रिय स्थिती, प्राचार्य डाक्टर भक्तबहादुर आलेले समृद्धिका लागि नवप्रवर्तनको आवश्यकता र नेपालमा भएका प्रयास, नाष्टका ईन्जिनियर रोशन पाण्डेले उर्जा क्षेत्रमा नवप्रवर्तन, डाक्टर रविन्द्रप्रसाद ढकालले समृद्धिका लागि नवप्रवर्तन एवं नाष्टको प्रयासका बारेमा प्रस्तुतीकरण राखेका थिए ।