नेपालगन्ज: जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवा, सुविधा नदिने निर्णय गरेको छ ।
बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि बाध्य भएर यस्तो निर्णय गर्न परेको जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तवले बताए ।
बुधबार बसेको समितिको बैठकले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवा, सुविधा नदिने निर्णय गरेको उनले बताए ।
‘पटक–पटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर कठोर निर्णय गर्न प¥यो,’ उनले भने । आम औषधि सेवनअन्तर्गत हात्तीपाइले रोगविरुद्धको औषधि बाँकेमा शनिबार खुवाइदैछ ।
बाँकेको ग्रामीण भेगभन्दा नेपालगन्ज नगरभित्र औषधि सेवन गर्नेको संख्या न्यून भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लाका कोहलपुर र नेपालगन्ज उपमहानगरपालिकामा बढी हात्तीपाइले रोगको उच्च जोखिम भएको जनस्वास्थ्य अधिकृत अंगतबहादुर शाही बताउँछन् ।
बाँकेमा दशौँ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । नवौँ पटक औषधि खुवाउँदा पनि नियन्त्रण नभएपछि यस वर्ष पनि औषधि खुवाउने अभियान सञ्चालन गरिदैछ । उनले बाँकेका चार लाख सर्वसाधारणलाई औषधि खुवाइने लक्ष्य रहेको बताए ।
यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलसम्शेर राणाले औषधी खुवाउने दर बढाउने वडालाई पुरस्कृत गर्दै बजेट बढाउने घोषणा गरेका थिए ।