बाँकेमा ६ लाखलाई खुवाउँने लक्ष्य, कर्मचारीले खाए औषधि
नेपालगन्ज : सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिएको छ । हरेक वर्ष हात्तीपाइले रोग नियन्त्रण कार्यक्रमका लागि वार्षिक करोडौं रकम खर्च हुँदै आएको छ । तर, पनि बिरामीको यकिन तथ्याकं सरकारसँग छैन् ।
लक्षण देखिएका बिरामीको तथ्यांकसमेत पत्ता लगाउन नसकेकाले सरकारले सन् २०२० सम्म मुलुकमा हात्तीपाइले निवारण गर्न बोकेको लक्ष्य सफल हुने शंका उत्पन्न भएको छ । सरकारको यही चालले सन् २०२० हात्तीपाइले निवारण गर्ने सरकारी योजना असफल हुनसक्ने विज्ञहरु बताउँछन् । नेपालमा सन् २००३ बाट औषधी खुवाउन सुरू गरेको थियो ।
यस वर्ष शनिबारदेखि प्रस्तावित लुम्बिनी प्रदेशका बाँके, दाङ, बर्दिया र कपिलबस्तु सहित देशभरका १३ जिल्लामा हात्तिपाईले रोग विरूद्धको औषधी खुवाउने कार्यक्रम छ । औषधी सेवनका लागि सरकार वा जनस्वास्थ्य कार्यालयले पनि स्थानीय तहमा सचेतनात्मक कार्यक्रम गर्न सकेको छैन् । यस अघिका वर्षमा पनि यहि हाराहारीमा बजेट खर्च हुँदै आएको जनस्वास्थ्य कार्यालय बाँकेको रेकर्डले देखाउँछ ।
विगत नौं वर्षदेखि बाँकेमा उक्त रोग निवारणका लागि सरकारले लगानी गर्दै आएको जनस्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह बताउँछन् ।
बाँकेमा हात्तिपाईलेका विरामीको संख्या र अवस्थामा खासै सुधार आएको देखिदैन् ।
बाँके अहिले पनि हात्तिपाइलेको उच्च जोखिमै सूचीकृत छ । संघीय सरकार, प्रदेश सरकार र बाँकेका स्थानीय तहले गरी यो बर्ष पौने दुई करोड खर्च गर्न लागेका कार्यालयका जनस्वास्थ्य अधिकृत अंगत शाही बताउँछन् । सरकारले करोडौं खर्च गरेको छ । तर, लक्ष्यअनुसार उपलब्धी नहूँदा सरकारको लगानी वालुवामा पानी झै बनेको छ ।
बाँकेमा ६ लाख एक हजार आठ सय ७६ जनसंख्यालाई खुवाईने छ । यसका लागि चार सय १६ जना स्वास्थ्यकर्मी र सात सय ८९ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ । सरकारले करोडौं खर्च गरे पनि नेपालगन्ज उपमहानगरपालिकामा ठूलो संख्याले औषधि सेवन नगरिदिँदा बाँकेमा अभियान नै ‘फेल’ भइरहेको छ ।
२०६७ देखि बाँकेमा हात्तीपाईले रोगविरुद्ध औषधी खुवाउने कार्य चल्दै आएको छ । पहिलो चरणमा भएका केही गल्तीले गर्दा दोस्रो चरणदेखि जिल्लावासीले औषधी खान कम गरिदिएका थिए । दोस्रो वर्ष ४७.४३ प्रतिशतमा झरेको थियो । त्यसपछि ६३.०२ प्रतिशत, ६७ प्रतिशत, ७१ प्रतिशत, ६५ प्रतिशत, ६७.१३ प्रतिशत, ६५.८९ प्रतिशत र सन् २०१९ मा ५४.९८ प्रतिशतले औषधी खाएका थिए ।
माघ २५ देखी २८ गते सम्म चल्ने हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाउने कार्यक्रमको पुर्ण तयारी रहेको जनस्वास्थ्य कार्याललय बाँके बताउँछ । शनिबारदेखि २८ गतेसम्म यहाँका सबै स्थानीय तहमा प्रत्येक वडाको घरदैलोमा औषधि खुवाउन स्वास्थ्यकर्मी पुग्ने भएका छन् ।
बाँकेको नेपालगन्जमा शुक्रबार राजनीतिक दलका नेता, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवासतव, जनस्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह लगायतले हात्तिपाईले बिरूद्धको औषधी खाएका छन् ।