हात्तीपाईले विरुद्धको राष्ट्रिय अभियान शुरू


हात्तीपाईले विरुद्धको राष्ट्रिय अभियान शुरू

पुरानै पेशा ठिक: पत्रकारले हात्तिपाइले बिरूद्धको औषधी खादै गर्दा फोटो खिच्दै पुर्व पत्रकार तथा नेपालगन्ज उपमहानगरपालिकाका वर्तमान उपमेयर उमा थापा । तस्वीर: गजेन्द्र गुरूङको फेसबुकबाट

नेपालगन्ज: हात्तीपाईले रोग नियन्त्रण राष्ट्रिय अभियानअन्तर्गत शनिबारदेखि बाँकेमा पनि औषधि खुवाईंएको छ । नवौँ पटक औषधि खुवाउँदा समेत हात्तीपाईले रोग नियन्त्रण नभएपछि बाँकेमा दशौँ पटक उक्त रोग विरुद्धको औषधि खुवाउन शुरू गरिएको हो ।

फागुन पाँच गतेसम्म सञ्चालन हुने अभियानको पहिलो दिन शनिबार एक कार्यक्रमका बीच जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि एवं सञ्चारकर्मीहरुले संयुक्त रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् ।

अभियानको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख बिरबहादुर ओली, जनप्रतिनिधि तथा संचारकर्मीहरुले संयुक्त रुपमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।

उपमहानगरपालिका परिसरमा स्थापना गरिएको बुथमा मेयर राणाले औषधि सेवन गरी अभियान शुभारम्भ भएको घोषणा गरेका हुन् ।
यसका अलावा जिल्लाका आठ वटै स्थानीय तहमा बिभिन्न कार्यक्रम गरी औषधि सेवन कार्यक्रम शुरु गरिएको छ । जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवा, सुविधा नदिने निर्णय गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि बाध्य भएर यस्तो निर्णय गर्नु परेको जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव बताउँछन् । बाँकेमा हात्तिपाईलेका विरामीको संख्या र अवस्थामा खासै सुधार आएको देखिदैन् । बाँके अहिले पनि हात्तिपाइलेको उच्च जोखिमै सूचीकृत छ ।

संघीय सरकार, प्रदेश सरकार र बाँकेका स्थानीय तहले गरी यो वर्ष पौने दुई करोड खर्च गर्न लागेका कार्यालयका जनस्वास्थ्य अधिकृत अंगत शाही बताउँछन् । सरकारले करोडौं खर्च गरेको छ । तर, लक्ष्यअनुसार उपलब्धी नहूँदा सरकारको लगानी बालुवामा पानी झै बनेको छ ।

बाँकेमा ६ लाख एक हजार आठ सय ७६ जनसंख्यालाई खुवाईने छ । यसका लागि चार सय १६ जना स्वास्थ्यकर्मी र सात सय ८९ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।