कोरोना भाइरसः हेल्थ डेस्ककर्मी नै अनबिज्ञ


कोरोना भाइरसः हेल्थ डेस्ककर्मी नै अनबिज्ञ

नेपालगन्ज: यतिबेला निकै चर्चामा रहेको कोरोना भाइरसका बारे नेपालगन्जस्थित जमुनाह नाकामै रहेको हेल्थ डेस्ककर्मी नै अनबिज्ञ देखिएका छन् ।

उक्त रोगको संक्रमण नभित्रिओस् भनेर भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ । सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको उक्त हेल्थ डेस्कमा हरेक दिन एकजना स्वास्थ्य स्वास्थ्य जाँचका लागि खटिन्छन् । तर, उक्त हेल्थ डेस्क हरेक दिन सुनसान हुने गरेको छ ।

स्वास्थ्य परीक्षणका लागि कोही नआएपछि स्वास्थ्य परीक्षणका लागि खटिने स्वास्थ्यकर्मी कामविहीन हुने गरेका छन् । उक्त हेल्थ डेस्कलाई कोरोना भाइरस जाँच गर्ने जिम्मा पनि दिइएको छ । तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन् ।

कोरोनो भाइरस नयाँ भएकोले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताउँछन् । उनले भने ‘कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन ।’ भाइरस पत्ता लगाउने विधि र आवश्यक उपकरणको बारेमा पनि आफूलाई जानकारी नभएको उनी बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

थापाले भने ‘नयाँ रोग भएकोले के कसरी सर्छ र देखिने लक्ष्यणका बारेमा जानकारी हुने कुरै भएन ।’ कोरोना भाइरस नयाँ भएकोले यो रोगको बारेमा स्वास्थ्यकर्मीलाई अनुशिक्षण दिनुपर्ने उनी बताउँछन् । उनकाअनुसार कोरोना भाइरसको जाँच गर्नुस् भनेर निर्देशन दिँदैमा हुँदैन, नयाँ रोगको बारेमा स्वास्थ्यकर्मीलाई तालिम दिएमात्र सेवा प्रभावकारी बन्न सक्छ ।

उनकाअनुसार हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीसँग कोरोना भाइरस जाँच गर्ने प्रभावकारी उपकरण पनि छैन । इन्फ्रारेड थर्मामिटरको सहायताले कोरोना भाइरसको जाँच गर्दै आएको हेल्थ असिस्टेन्ट थापाले बताएका छन् । हेल्थ डेस्कमार्फत अहिलेसम्म २० जनाको जाँच गरिएको उनको भनाई छ । भारतमा कोरोना भाइरस नदेखिएकोले कडाइका साथ जाँच नगरिएको उनले बताए ।

शंकास्पद व्यक्तिलाई हेल्थ डेस्कसम्म नाकामा खटिएका प्रहरीले लैजाने गरेका छन् । रुघाखोकी र ज्वरो आएको जस्तो लागेमा हेल्थ डेस्कमा लिएर जाँचका लागि स्वास्थ्यकर्मीको जिम्मा लगाउने गरेको ईलाका प्रहरी कार्यालय, जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजाल बताउँछन् ।

कोरोना भाइरस जाँचका लागि नाकामा हेल्थ असिस्टेन्टलाई खटाए पनि भारतले नेपालगन्ज नाकाअन्तर्गत आफ्नो भूमीमा मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

डाक्टर मुकिम अहमदको नेतृत्वमा कोरोना भाइरस जाँच पड्ताल टोली उत्तर प्रदेश सरकारले खटाएको छ । चिनियाँ नागरिकलाई लक्षित गरि स्वास्थ्यकर्मीको टोली परिचालन भएको सिएचसी चर्दाका वार्ड असिस्टेन्ट धर्मराज बर्मा बताउँछन् ।

नेपालबाट भारत प्रवेश गर्ने चिनियाँ नागरिकमा कोरोना भाइरस फेला परेमा एम्बुलेन्समार्फत तत्कालै जिल्ला अस्पताल, बहराइच पु¥याउने व्यवस्था मिलाइएको उनी बताउँछन् ।

‘एम्बुलेन्स मार्फत बहराइच लगेर शंकास्पद ब्यक्तिमा कोरोना भाइरस भए नभएको पत्ता लगाउन पूरै शरिरको जाँच गर्ने गरि स्वास्थ्यकर्मी परिचालन भएका छौँ ।’