युवा संघ र अनेरास्ववियुले बुझाए ध्यानाकर्षपत्र
नेपालगन्ज: बाँकेस्थित राष्ट्रिय युवा संघ र अनेरास्ववियुले भेरी अस्पतालमा तत्काल सुधार नआएको अवस्थामा कडा आन्दोलनको चेतावनी दिएका छन् ।
भेरी अस्पताल बाहिर/भित्र रहेका समपूर्ण मेडिकल तथा क्लिनिकहरू तत्काल हटाउन राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाँकेले माग गरेको छ । अस्पतालको सेवाको विषयलाई लिएर ध्यानाकर्षण पत्र बुझाउँदै यी संगठनले यस्तो माग गरेका हुन् ।
उक्त ध्यानाकर्षण पत्रमा आफूहरूले राखेका माग तत्काल सम्बोधन नभए कडा आन्दोलनको विकल्प नभएको उल्लेख गरिएको छ । अस्पतालका प्रमुख रूपानन्द अधिकारीलाई भेटेर यी दुबै संगठनले ध्यानाकर्षपत्र बुझाएका हुन् ।
उनीहरूले अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउँनुका साथै अस्पतालमा देखिएको समस्या समाधान गरी सुधार गर्न जोड दिएका छन् ।
अस्पतालले यहाँका विसंगति र विकृति तथा अव्यस्थित सेवालाई तत्काल व्यवस्थित र गुणस्तरीय नबनाए अस्पतालका विरूद्ध कडा आन्दोलन गर्ने पनि उनीहरूले ध्यानाकर्षणपत्र मार्फत चेतावनी दिएका छन् ।
अस्पताल प्रशासनँंग आम जनताको सरोकार र चासोका विषयमा दश शुत्रीय माग राख्दै राष्ट्रिय युवा संघ र अनेरास्ववियु बाँकेले ध्यानाकर्षण पत्र बुझाएको हो ।
उक्त ध्यानाकर्षण पत्रमा प्रत्येक ओपिडीहरुमा विशेषज्ञ चिकित्सकहरु अनिवार्य रुपमा बस्ने ब्यवस्था मिलाउनुपर्ने, इमरजेन्सी र प्रसुती सेवाहरु संचालन गर्ने, अस्पताल परिसरको बाहिर र भित्र रहेका सम्पुर्ण मेडिकल र स्वास्थ्य क्लिनिकहरु हटाईनुपर्ने उल्लेख छ ।
अस्पतालको फार्मेसीबाट सबै किसिमका औषधि र अस्पताल ओपिडी बाटै बिहान नौ बजेदेखी साँझ पाँच बजेसम्म अनिवार्य रुपमा सेवा प्रदान गर्ने ब्यवस्था मिलाउनुपर्ने जस्ता आम सेवाग्राहीका चासो र सरोकारका विषयलाई लिएर ध्यानाकर्षण बुझाएको राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुश्माखर बस्यालले बताएका छन् ।
एकसय ४७ बर्ष लामो इतिहास बोकेको भेरी अस्पतालले जे जसरी सेवाग्राहीलाई उपलब्ध सेवाहरु इमान्दारीपुर्वक उपलव्ध गराउनुपर्ने थियो । त्यसको ठिक बिपरित उपलब्ध सेवाहरु अस्पतालमा उपलब्ध नगराई सोझा सेवाग्राहीहरुलाई केही चिकित्सक र कर्मचारीले निजि क्लिनिकमा जान बाध्य पारिरहेको परिस्थिति रहेकाले अनेरास्ववियु र राष्ट्रिय युवा संघले त्यसको ध्यानाकर्षण गर्दै पत्र बुझाएको जनाएको छ ।
अस्पतालको सेवामा सुधार नआए आन्दोलन गर्ने अनेरास्ववियुका बाँकेका संयोजक तथा सह संयोजक क्रमशः सुरेन्द्रजंग शाह बताउँछन् । ध्यानाकर्षण बुझाउने कार्यक्रममा अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाँकेका पदाधिकारी तथा प्रतिनिधिसंगै युवा तथा बिद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य किशोर थापाले भेरी अस्पतालले दिने सेवाहरु इमान्दारीपुर्वक दिन नसकेको कारण यो ध्यानाकर्षण पत्र बुझाउनु परेको बताए ।
‘साधारण जनताले पाउनुपर्ने सेवा सुबिधा लिन नसक्ने स्थिति रहेको छ , प्राइभेट क्लिनिकमा जानुपर्ने स्थिति आएकोले यो कदम चाल्नु परेको हो’– थापाले बताए ।
अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर रूपानन्द अधिकारीले ध्यानाकर्षण गराएकोमा धन्यवाद दिदै आउने दिनमा पनि यसरी नै आफुलाई सचेत गराउदै, निरीक्षण तथा चासो राख्न अनुरोध समेत गरेका थिए । अधिकारीले सम्भव भएसम्म आफुले अस्पताल सुधारका लागी कार्य गर्ने बताएका छन् ।