कोरोनाको त्रासमा नेपालः २ सय ५ जनामा कोरोना भाइरस परीक्षण


कोरोनाको त्रासमा नेपालः २ सय ५ जनामा कोरोना भाइरस परीक्षण

नेपालगन्ज: चीनको वुहान शहरबाट सुरु भएको नोवेल कोरोना भाइरस अर्थात कोभिड–१९ पछिल्लो समय चीनसहित कम्तिमा ५७ देशमा फैलिसकेको छ ।

नेपालमा अहिलेसम्म एकजना व्यक्तिमा मात्र भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । करिब एक महिना अगाडि ती व्यक्ति चीनको वुहान शहरबाट नेपाल फर्केका थिए । नेपाल फर्केका उनीमा भाइरसको लक्षण देखा परेपछि उनी अस्पताल पुगेका थिए । अस्पताल पुगेका उनको चिकित्सकहरुले नमूना संकलन गरी परीक्षणका लागि हङकङ पठाइएको थियो । परीक्षणका लागि पठाइएको रिर्पोट ‘पोजेटिभ’ आएको थियो ।
उक्त व्यक्ति अस्पतालको आइसोलेसनमा बसे । उनको स्वास्थ्यस्थिति ठीक भएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको थियो । अहिले उनी स्वस्थ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्ममा २ सय ५ शंकास्पद व्यक्तिहरुको नमूना परीक्षण भइसकेको छ । १ सय ७५ जना फागुन ३ गते चीनको वुहानबाट उद्दार गरिएका थिए भने अन्य ३० जना परीक्षणका लागि आफैँ अस्पताल पुगेका थिए । नमूना परीक्षण गरिएका कुनै पनि व्यक्तिमा भाइसरको संक्रमण नदेखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बताएको छ ।

चीनबाट फर्केका विद्यार्थी बाहेक अन्य ३० जना नमूना परीक्षण गरिएका व्यक्ति नेपाली भए पनि उनीहरु लामो समय चीनमा बसेर नेपाल फर्किएकाहरु थिए । कुनै भने अन्य देशबाट नेपाल फर्किदा चीन वा हङकङमा ट्रान्जिट परेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

शंकास्पद व्यक्तिले भन्दैमा कुनै पनि व्यक्तिको नमूना परीक्षण गर्न नसकिने प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले बताए । उनले भने, ‘नमूना परीक्षण गर्नका लागि केही नियम छन् । शंकास्पद व्यक्ति अस्पालको आइसोलेसनमा भर्ना भए पछि उक्त अस्पतालका चिकित्सकले सिफरिस गरे पछि मात्र नमूना संकलण गरेर परीक्षण गर्ने गरिन्छ ।’

नमूना परीक्षणको रिर्पोट नआउन्जेलसम्म शंकास्पद सबै व्यक्ति टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

यसैबीच, नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले जनाएको छ । डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ ।

नेपालसँगै डव्लुएचओले दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

सुरुमा एकजना बाहेक अहिलेसम्म नेपालमा यसको संक्रमण देखिएको छैन । तर, विश्वभर तीव्ररुपमा फैलने क्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा राखेको जनाइएको छ ।
आम जनतालाई आफ्नो तर्फबाट सचेत र सतर्क रहन र भीडभाडबाट बच्न अपील पनि गरिएको छ ।