नेपालगन्ज : बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा स्थापना गरिएको ‘कोरोना भाइरस हेल्प डेक्स’मा नागरिकको स्वास्थ्य जाँच गरिदैन् ।
दुई जना हेल्थ असिस्टेन्ट (एचए) र आवश्यक पूर्वाधारको व्यवस्था गरेर स्थापना गरेको उक्त हेल्प डेक्समा भारतबाट आउने नागरिकको स्वास्थ्य जाँच भने अनिवार्य छैन । भारतबाट दैनिक सयौ नेपाली जमुनाह नाका हुँदै नेपालगन्ज आउने गरेका छन् । यसरी प्रवेश गर्ने मध्ये बिरामी परेका र आफै स्वास्थ्य जाँच गर्न चाहने बाहेक अरुको यो हेल्प डेक्समा स्वास्थ्य जाँच हुँदैन ।
बिरामी परेकालाई मात्र निगरानीमा राखेर चेकजाँच गर्ने गरेको यहाँका खटिएका स्वास्थ्यकर्मी धनप्रसाद न्यौपाने बताउँछन् । उनकाअनुसार विामी बाहेक अरू नागरिकको स्वास्थ्य जाँच हुदैन् । नाकाबाट आउने सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्तिले सम्भावना नहुने उनी बताउँछन् ।
हेल्थ डेक्समा इन्फारेड थर्मोमिटरबाट मानिसको स्वास्थ्य परीक्षण गरिने न्यौपानेले बताए । त्यस्तो थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने थाहा पाउँछ । ज्वरोको अवस्था हेरेर हेल्थ डेक्सका स्वास्थ्यकर्मीले आवश्यक उपचारका लागि अन्य अस्पतालमा बिरामी पठाउँदै आएका छन् ।
स्थलमार्ग हुँदै नेपाल भित्रिने मानिसको स्वास्थ्य परीक्षण अनिवार्य नभएकाले जुनसुकै बेला रोगको प्रकोप देखिने डर छ । हेल्थ डेक्समा नेपालगन्ज उपमहानगरपालिकाले कर्मचारी खटाएपनि उनीहरूको कामका बारे अहिलेसम्म उपमहनागरपालिकाले अनुगमन समेत गरेको छैन् ।
बाँके, बर्दिया लगायत र भारतीय सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकले कोरोना भाइरसका बारेमा उच्च सर्तकता अपाउने निर्णय गरेपछि दुबै ठाउँमा हेल्थ डेक्स राखिएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल बताउँछन् ।