प्रदेशमा मेला महोत्सव, भेला गर्न प्रतिबन्ध
नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेशमा नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएको छ । प्रदेशमा यस्तो जोखिम देखिएसँगै सरकारले लगानी सम्मेलन लगायतका विविध कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ ।
लगानी सम्मेलन आगामी बैशाख ४ र ५ गते हुन लागेको थियो । प्रदेश सरकारको मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । लगानी सम्मेलन सहित प्रदेशको १२ वटै जिल्लामा मेला महोत्सव, भेला जस्ता सार्वजनिक कार्यक्रम गर्न/गराउँन प्रतिबन्ध लगाइएको छ ।
लगानी सम्मेलनमा बिदेशी पाहुनाहरु समेत सहभागि रहने भएको हुँदा लगानी सम्मेलन स्थगित गरिएको भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरी बताउँछन् ।
यसअघि संघीय मन्त्रीपरिषदले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरिय समन्वय समिति बनाइएको थियो । उक्त समितिले हवाई तथा यातायात सम्पर्क भएका मुलुकहरुबाट हुने आवतजावतलाई निगरानी गर्ने निर्णय गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि कोरोना भाइरसको उच्च जोखिम रहेको देशका रुपमा लिएको छ । प्रदेश सरकारले १२ वटै जिल्लामा मेला महोत्सव गर्न बन्जेद लगाएपनि बाँकेमा कम्प्युटर एशोसिएशन नेपाल महासँघ बाँकेले मंगलबारदेखि क्यान इन्फोटेक गर्ने बताएको छ ।
यसका लागि आवश्यक तयारी पुरा भएको क्यान महासँघका पुर्वकेन्द्रीय उपाध्यक्ष सञ्जय थापाले जानकारी दिए । उनकाअनुसार उक्त इन्फोटेकमा विविध खालका ९० वटा स्टल राखिने छन् ।
उक्त मेला सञ्चालनका लागि ३५ लाख खर्च भइसकेको छ । मेलामा करिब ३० करोडको कारोवार गर्ने लक्ष्य रहेको महासँघ बाँकेका अध्यक्ष रमणीप्रसाद शर्मा बताउँछन् । पाचँ दिनसम्म सञ्चालन हुने मेलाको उद्घाटनमा प्रदेश पाँच सरकारका सभामुख पूर्णबहादुर घर्ती र महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरलगायतको सहभागीता रहने छ ।
मेला उद्घाटनअघि विहान स्थानीय वीपीचोकबाट प्रभातफेरी गरिने छ । मेला अवलोकनका लागि सर्वसाधारणलाई ३० र विद्यार्थीलाई २० रूपैयाँ तोकिएको छ ।
तर, अपाङगता भएका भएका व्यक्ति, सञ्चारकर्मी, जेष्ठ नागरिकलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । मेला उद्घाटनमा डोनको प्रयोग गरिने छ । यसका लागि ड्रोन सञ्चालकले केन्द्रीय सरकार बाँके प्रशासनबाट अनुमित लगिसकेको आयोजकले बताएका छन् ।