नेपालगन्ज :इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेशन प्राइभेट लिमिटेडले २७ औं शाखाको रुपमा नेपालगन्जमा आफ्नो शाखाको उद्घाटन गरेको छ ।
नेपालगन्जमा सोमबार एक औपचारिक कार्यक्रमका बीच नेकपा बाँकेका संयोजक तथा प्रदेश सांसद् आइपी खरेल, कम्पनीका असिष्टेन्ट भायस प्रेसिडेन्ट लुबरत्न श्रेष्ठ, शाखा प्रबन्धक भानुभक्त रेग्मी लगायतका अतिथिहरुले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।
नेपालगन्जमा केही हप्ता अगाडिदेखि नै आफ्नो सेवा प्रारम्भ गरेको भायनेटले २० वर्ष अगाडि काठमाडौंदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।
स्थापनाको १८ वर्षपछि भ्याली बाहिर आफ्नो सेवा प्रदान गर्ने उद्देश्यले भायनेटले नेपालगन्ज लगायत देशका अन्य स्थानमा आफ्नो शाखा बिस्तार गर्ने रणनीति लिएर कार्य गर्दै गरेको नेपालगन्ज शाखाका प्रबन्धक रेग्मीले बताए ।
रेग्मीले नेपालगन्जको सम्पूर्ण वडा र कोहलपुरमा सेवा प्रदान गर्नका लागि आफूहरु सक्षम रहेको समेत बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् खरेलले भायनेटले जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै शुभकामना दिए ।