नेपालगन्ज: नेपालगन्जको जमुनाह नाकामा मंगलबारदेखि कोरोना भाइरस भए/नभएको बारे सर्वसाधारणमको स्वास्थ्य जाँच शुरू भएको छ ।
हेल्प डेक्स स्थापना भएपनि यसअघि प्रभावकारी स्वास्थ्य परीक्षण हुन सकेको थिएन् । सेतोखरीले सोमबार ‘हेल्थ डेक्समै स्वास्थ्य परीक्षण हुँदैन’ शीर्षकमा समाचार प्रकाशित गरेपछि त्यहाँ खटिएका कर्मचारीले मंगलबारदेखि आमनागरिकको स्वास्थ्य जाँच थालेका हुन् । मंगलबारदेखि कोरोना भाइरस भित्रिन नदिनका लागि प्रभावकारी सतर्कता अपनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले भारतबाट स्थलमार्ग हुँदै नेपालगन्ज भित्रने यात्रुहरुलाई कोरोना भाइरस भए नभएको पत्ता लगाउन नेपालगन्ज रुपैइडिहा सीमा नाका जमुनाहमा रहेका चेक जाँच कक्षमा मंगलबारदेखि कडाईका साथ स्वास्थ्य परीक्षण गर्न थालिएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।
भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण सुरु गरेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । यहाँ दुई स्वास्थ्यकर्मी परिचालन गरिएको चन्दले बताए ।
सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति कम हुने भएकाले सशस्त्र प्रहरी बललाई समेत आवश्यक सहयोग र समन्वय गरिदिन अनुरोध गरिएको चन्दले बताए । नाकामा इन्फारेड थर्मो्मिटरबाट मानिसको स्वास्थ्य परीक्षण गरिदै छ । इन्फारेड थर्मो्मिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउँन सकिन्छ । यसअघि बिरामी परेकालाई मात्र निगरानीमा राखेर चेकजाँच गर्ने गरेको यहाँका खटिएका स्वास्थ्यकर्मी धनप्रसाद न्यौपाने बताउँछन् ।

मंगलबारअघि विरामी बाहेक अरू नागरिकको स्वास्थ्य जाँच हुदैन् थियो उनले भने ‘नाकाबाट आउने सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्तिले सम्भावना देखिदैन् ।’
हेल्थ डेक्समा इन्फारेड थर्मो्मिटरबाट मानिसको स्वास्थ्य परीक्षण गरिने न्यौपानेले बताए । त्यस्तो थर्मो्मिटरले बिरामीमा ज्वरो कति छ भन्ने थाहा पाउँछ । ज्वरोको अवस्था हेरेर हेल्थ डेक्सका स्वास्थ्यकर्मीले आवश्यक उपचारका लागि अन्य अस्पतालमा बिरामी पठाउँदै आएका छन् ।
हेल्थ डेक्समा नेपालगन्ज उपमहानगरपालिकाले कर्मचारी खटाएपनि उनीहरूको कामका बारे अहिलेसम्म उपमहनागरपालिकाले अनुगमन समेत गरेको छैन् ।
बाँके, बर्दिया लगायत र भारतीय सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकले कोरोना भाइरसका बारेमा उच्च सर्तकता अपाउने निर्णय गरेपछि दुबै ठाउँमा हेल्थ डेक्स राखिएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल बताउँछन् ।