कोरोनाको त्रास, के गर्दैछ सरकार ?


कोरोनाको त्रास, के गर्दैछ सरकार ?

नेपालगन्ज: विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको । कोरोनाको सन्त्रासमा रहेको नेपालमा सरकारले धमाधम औपचारिक कार्यक्रमहरु स्थगन गरिरहेकोछ । यो अवधिमा कुनैपनि प्रकारका मेला, महोत्सव, भेला नर्गन भन्दै संघीय तथा प्रदेश सरकारले आवश्यक निर्देशन समेत दिइसकेकोछ ।

सरकारले चिकित्सक र आवश्यक सामाग्री सहितको टोली सातै वटा प्रदेशमा खटाएकोछ । नेपाल भित्रिने र नेपालदेखि बाहिरिन जोकोहीलाई चिकित्सकको उच्च निगरानीमा राखी परीक्षण भइरहेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने दावी गरेका छन् । उनले कोरोनालाई नेपाल आउन नदिनु नै सरकारको प्रमुख लक्ष्य भएको भन्दै सोहीअनुसार काम गरिररहेको बताए । उनले यसका लागि सरकारले राम्रो तयारी गरेको पनि दावी गरे ।

डाक्टर देवकोटाले त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा ‘हेल्थ–डेस्क’ राखेर काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘रुघाखोकी, ज्वरो, छाती दुःख्ने र श्वासप्रश्वासमा गाह्रो भएको लक्षण देखियो भने चेकजाँच गरिन्छ । विमानस्थलमा टेम्प्रेचर लिने र स्कानर लिने काम हुन्छ । सयभन्दा बढी फरेनहाइट टेम्प्रेचर देखियो भने निगरानीमा राखिन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले विमानस्थलमा हरेक यात्रुलाई चेकजाँच गरिने गरिएको सुनाए । त्यतिमात्रै, होइन विमानस्थलको हेल्थ डेस्कमा जनशक्ति बढाइएको पनि उनले जनाए ।

हवाई नाकामात्रै नभएर उनले चीन र भारतसँगको स्थलगतमार्गमा समेत निगरानी बढाइएको स्पष्ट पारे । शुक्रराज ट्रपिकल अस्पतालमा सय बेड रहेको र त्यसमा पनि केही आईसोलेशन बेड राखिएको उनले जनाए । शुक्रराज ट्रपिकलसहित पाटन अस्पताल र सशस्त्रमा बेडहरु तयारी अवस्थाम राखिएको पनि उनले जनाए । त्यस्तै, काठमाडौं उपत्यकाका सबै अस्पताललाई स्ट्याण्डबाई राखिएको पनि उनले स्पष्ट पारे ।

उनले बाहिर देशबाट आएकाहरुले स्वास्थ्य परीक्षणको फलोअप गर्नुपर्ने र सबै नेपालीहरुले मास्कको प्रयोग गर्नुपर्ने, ह्याण्ड सानिटाइजेशनको प्रयोग गर्न सुझाव दिए । मास्कको अभाव भएको भन्ने कुरा पनि आएको उल्लेख गर्दै सरकारले यसतर्फपनि आवश्यक गम्भीरताका साथ कदम चालेको उनले स्पष्ट पारे । उनले भने,‘मास्क अभाव हुनुमा हामीसँग उत्पादन क्षमता कम छ, अर्को कुरा मटेरियल पनि बाहिरबाट ल्याउनुपर्ने भएकोले अहिले समस्या देखिएको हो ।’

भर्खरै आफूहरुले २५ हजार मास्क ल्याएको सुनाउँदै छिट्टै अरुपनि बन्दोबस्त गर्ने उनले योजना सुनाए । यदि मास्कमा कालोबजारी गरेको थाहा पाइए सरकारले हदैसम्मको कारबाही गर्नेपनि उनले चेतावनी दिए ।

कोरोनाको विश्वव्यापी असरको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेकाछन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जनाएको छ ।

बुधबार बिहानसम्म यो रोगबाट ३२ सय ३ जनाको मृत्यु भएको छ भने ९३ हजार १६० जना बिरामी छन् । यस्तै यो रोगको संक्रमण भएका ५० हजार जना भने निको भइसकेका छन् ।