एसपी ओलीको ब्रिफिङ्: ड्युटीमा ‘मास्क’ अनिवार्य !


एसपी ओलीको ब्रिफिङ्: ड्युटीमा ‘मास्क’ अनिवार्य !

नेपालगन्ज: बाँकेमा कार्यरत प्रहरीले ड्युटीमा रहेका बेला अनिवार्य रूपमा मास्क प्रयोग गर्नुपर्ने भएको छ । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसको असर नेपाल प्रहरीमा पनि पर्न सक्ने भएकाले सतर्कता अपनाइएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।

सुरक्षा संगठन समूहमा रहने भएकाले सम्भावित खरताबारे समयमै सतर्कता अपनाइएको उनले बताए । उनले भने ‘बुधबार बिहानको ब्रिफिङ’मा मैले निर्देशन दिइसकेको छु । यसैले बुधबारदेखि नै बाँकेका प्रहरी मास्क प्रयोग गर्न थालेका छन् ।’ यसका लागि जनस्वास्थ्यसँगको समन्वयमा आवश्यक मास्क प्रहरीले खरिद गरिसकेको छ एसपी ओलीले भने ‘अपुग भए थप व्यवस्थापनका लागि पनि योजना बनाएका छौं ।’

प्रहरीले तालिम, गस्ती, छापा हान्ने लगायतका कार्य समूहमा गर्दै आएको छ । यसबाहेक सभा सम्मेलन, भिडभाड हुने स्थानमा समेत प्रहरीको उपस्थिति रहने गरेको छ । यसैले पनि मास्कको अनिवार्यता गरिएको उनी बताउँछन् ।

उनले भने, ‘विमानस्थल, ट्राफिक चेकिङ र प्रहरीले भिडभाडमा ड्युटी गर्ने सम्भावित स्थानमा मास्क लगाउन भनेका छौं । त्यसबाहेक साबुनपानीले हात घुने, स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य परीक्षण लगायतको व्यवस्था गरेका छौं ।’

Kanti Aarogya Hospital Nepalgunj

सकेसम्म हात नमिलाउन र नमस्ते गर्न समेत निर्देशन दिएको छ । चिकित्सकले समेत नमस्ते गर्न सुझाव दिँदै आएका छन् । तर, बाँके प्रशासनले मन्त्रालयको परिपत्र नआएको भन्दै यहाँ चलिरहेका मेला महोत्सव भेला र प्रर्दशनीमा रोक लगाउँन सकेको छैन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का प्रदेश र संघीय सरकारको निर्णयको परिपत्र कुरेर बसेको भन्दै प्रदेश सरकारका प्रवक्ताले सार्वजनिक गरिसकेको सूचना समेत कार्यान्वयन गर्न उदासिन देखिएका छन् ।

कोरोनाकै प्रभावको सबैभन्दा ठूलो असर प्रहरीको मापसे चेकिङमा देखिएको छ । कोरोना संक्रमणको त्रासका कारण ट्राफिक प्रहरीले चेक गर्दै आएको मापसे परीक्षणमा असर पर्ने देखिएको हो । तर, बाँकेमा ब्रेथलाइजर अभावले ट्राफिकले मुखैले सुगेर मापसे चेक गर्दै आएका छन् । यसले पनि जोखिम देखिएको छ ।

नजिकै गएर चेक गर्नुपर्ने भएकाले कोरोनाभाइरसको संक्रमण भएको भए असर गर्न सक्ने भन्दै त्यसको विकल्पमा छलफल भइरहेको बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बम बताउँछन् ।