डोल्पामा फैलिएको रोग कोरोना होइन,मौसमी रुघाखोकी


डोल्पामा फैलिएको रोग कोरोना होइन,मौसमी रुघाखोकी

डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमूना काठमाडौं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रबार बेलुकी मात्रै रोगको पुष्टि भएको हो ।

गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालका डा मेलिना हमालले जानकारी दिइन् । “शुक्रबार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो, प्रतिवेदनमा अरु बेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ”, डा हमालले भनिन् ।

“सरसफाइमा ध्यान नदिँदा एकपछि अर्को गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुरामा ध्यान नदिँदा रोग फैलिएको पायौँ,” उनले भनिन् । अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाइ कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्नेलगायतका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाएको डा हमालको भनाइ छ ।

पाँच जना स्वास्थ्यकर्मीले लेखनाथ आधारभूत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरु गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ । बिरामी स्वस्थ भएर पनि पहिलाको जस्तै सामान्य अवस्थामा फर्किसकेका छन् । दैनिक औषधि खाएपछि आफूहरु पहिलाको जस्तै स्वस्थ भएको एक सातादेखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सरसफाइमा ध्यान नदिँदा गाउँभरिका सबै मान्छे बिरामी परेको स्वास्थ्यकर्मीले बताएकाले अबदेखि सधैँ आफू, आफ्नो परिवार, घर आँगन, गाउँघर सफा राख्ने बोहोराले बताए । आफूहरु सञ्चो भएर पहिलाको जस्तै खेतीपातीको काममा जुटेको उनको भनाइ छ ।

दुई सातादेखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका १५० जनाको नियमित उपचार गरेपछि बिरामी सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा. मेलिना हमालले बताए । चाररपाँच दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थ्यकर्मी फेरि गाउँ पुग्ने बताइएको छ । उपचारका क्रममा १५० जनाबाहेक ४० जना बिरामीको जाँच गर्दा १० देखि १५ जना महिलामा पाठेघरको समस्या देखिएको र धेरैलाई पिसाबको समस्या देखिएको डा हमालले बताइन् । -रासस