अनुसन्धानका लागि ४ जना अस्पताल ‘रिफर’

सन्दर्भ: कोरोना भाइरस


अनुसन्धानका लागि ४ जना अस्पताल ‘रिफर’

जमुनाह स्थित हेल्प डेस्कमा भारतबाट नेपाल फर्केका नागरिकको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्विर विजय मल्ल/ सेतोखरी

नेपालगन्ज: नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा रहेको कोरोना हेल्प डेक्समा तीन दिनमा एक हजार दुईसय नागरिकले स्वास्थ्य परीक्षण गराएका छन् । जसमध्ये चार जना व्यक्तिको स्वास्थ्य परीक्षणका लागि डेक्सले भेरी अस्पताल रिफर गरेको छ ।

उनीहरूमा १००.१ डिग्री फरेन्टहाईट बढी ज्वरो देखिएका कारण डेक्सले अनुसन्धानका लागि अस्पताल रिफर गरेको डेक्सका स्वास्थ्यकर्मीले बताएका छन् ।

हेल्प डेक्समा स्वास्थ्य परीक्षण गराएकामध्ये चार जनामा ज्वरो केही बढी देखिएपछि अनुसन्धानका लागि हामीले भेरी अस्पतालमा रिफर गरेका छौं–डेक्समा खटिएका स्वास्थ्यकर्मी दुर्गा पाण्डेले भनिन् ‘तर, उनीहरूमा कोरोना भए÷नभएको अहिले थाहा हुँदैन् ।’

उनकाअनुसार अस्पतालले उनीहरूको स्वास्थ्य परीक्षण गरि रगत जाँचका लागि काठमाडौं पठाउँछ । उनले भनिन्– ‘टेकुस्थित प्रयोगशालाले गरेको रगत परीक्षणको रिर्पोटका आधारमा मात्रै संक्रमणका बारेमा भन्न सकिन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

हेल्प डेक्सकाअनुसार यसरी १००.१ देखि १००.३ डिग्री फरेन्टहाईट सम्म ज्वरो आएपछि अस्पतालमा रिफर गरिएकामा अछामका साढे दुई वर्षीय बालक अभिशेक चलाउने, तीन वर्षीया बालिका प्रियंका चलाउने, सुर्खेत निवासी तीन वर्षीय बालक जितेन नेपाली र सुर्खेतकै २६ वर्षीय पुरुष गणेश नेपाली रहेका छन् । उनीहरू सबै मुम्बईबाट नेपाल आएका हुन् ।

कोरोना भाइरसको जोखिम देखिएसँगै नेपालगन्ज उपमहानगरपालिका, जनस्वास्थ्य कार्यालय लगायतको समन्वय र सहकार्यमा जमुनाह नाका र नेपालगन्ज विमानस्थलमा स्वास्थ्य परीक्षणका लागि हेल्प डेक्स सञ्चालनमा ल्याइएको छ ।

जमुनाह नाकामा रहेको हेल्प डेक्समा नागरिकको स्वास्थ्य जाँच गराउँदा ज्वरो बढी देखिएकोले चार जनालाई अस्पताल रिफर गरिएपनि विमानस्थलमा भने शनिबारसम्म कसैलाई अस्पताल रिफर गर्नुपर्ने अवस्था नआएको विमानस्थल हेल्प डेक्सका स्वास्थ्यकर्मी सुरज बोहोरा बताउँछन् ।

कोरोना भाइरसबाट जिल्लाबासीलाई बचाउन प्रशासन कार्यालयका कर्मचारीसहित सरकारी निकाय, जनस्वास्थ्य कार्यालय, स्वास्थ्यकर्मी, अस्पताल, रेडक्रस, प्रहरीलाई अलर्टमा रहन निर्देशन जारी गरिसकेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का बताउँछन् ।