नेपालगन्जः पछिल्लो समय तीव्र गतिमा संक्रमितको सङ्ख्या बढेसँगै डब्ल्यूएचओले कोरोनालाई ‘विश्वव्यापी महामारी’ घोषणा गरेकोछ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसलाई ‘ विश्वव्यापी महामारी’ घोषणा गर्दै उच्च सर्तकता अपनाउन आग्रह गरेकोछ ।
यसअघि डब्ल्यूएचओले कोरोना भाइरसलाई ‘महामारी’ को संज्ञा दिन उचित ठानेको थिएन । एकै समयमा कुनै रोग विश्वभर तीव्र गतिमा फैलिरहेको अवस्थालाई ‘महामारी’ को संज्ञा दिने गरिन्छ ।
डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधनुम घेब्रेयेससले भाइरसको सक्रियताको खतरनाक स्तरलाई मध्यनजर गर्दै कोरोनालाई ‘विश्वव्यापी महामारी’को संज्ञा दिइएको बताए ।
मानिसबाट मानिसमा सर्ने तथा एकै समय धेरै मुलुक प्रभावित भएपछि डब्ल्यूएचओले त्यस्तो संक्रमणलाई महामारीको श्रेणीमा राख्ने गर्दछ ।
पछिल्लो पटक सन् २००९ मा स्वाइन फ्लुलाई यस्तो श्रेणीमा राखिएको थियो, जसले हजारौँ मानिसको मृत्यु भएको थियो ।
नयाँ भाइरसले यस्तो महामारीको अवस्था ल्याउने सम्भावना बढी हुन्छ जो मानिसबाट मानिसमा सजिलैसँग सर्ने र निरन्तर प्रभाव जमाउन सक्षम हुन्छ । कोरोनाभाइरस अहिले यही क्रममा देखिएको छ । यसको हालसम्म कुनै प्रकारको खोप वा उपचार पत्ता लागिसकेको छैन ।
पछिल्लो समय यो भाइरस विश्वका १ सय १४ मुलुकमा फैलिएको, चार हजारभन्दा धेरै मानिसको यो भाइरसका कारण ज्यान गइसकेको र एक लाख १८ हजार मानिसमा संक्रमण देखिएको डब्ल्यूएचओको भनाइ छ । संक्रमणलाई रोक्न देशहरुले के–कस्ता उपाय अपनाउँछन् भन्ने कुराले नै महामारीको स्तर निर्धारण हुने डब्ल्यूएचओले जनाएको छ ।
‘केही मुलुक क्षमताको अभावसँग जुधिरहेका छन्, केही मुलुक संशाधनको अभावसँग जुधिरहेका छन् र केही मुलुक संकल्पको अभावसँग जुधिरहेका छन्,’ डब्ल्यूएचओ प्रमुख डा. टेड्रोसले भने ।