नेपालगन्जदेखि १९० किमि टाढा कोरोना भाइरस


नेपालगन्जदेखि १९० किमि टाढा कोरोना भाइरस

नेपालगन्ज: नेपालगन्जदेखि १९० किमि टाढा कोरोना भाइरसको सक्रंमण भेटिएकोछ । छिमेकी देश भारतको लखनउमा कोरोना भाइरस संक्रमण भेटिएको हो ।

नेपालसंग सीमाना जोडिएको भारतको उत्तरप्रदेशको लखनउमा एक जना महिला डाक्टरलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सीमावर्ती क्षेत्रमा स्वास्थ्य चेकजाँच कडाई गरिएकोछ ।

नेपालगन्जदेखि करिब १९० किलोमिटर दूरीमा अवस्थित भारतको लखनउमा महिला डाक्टरलाई कोरोना भाइरसका लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएकोछ ।

क्यानाडाबाट लखनउ आएकी ती महिला डाक्टरलाई कोरोना भाइरस संक्रमण भएको हो । यद्यपी महिला डाक्टरको परिचय गोप्य राखिएकोछ ।
कोरोनाको लक्षण देखिएपछि क्यानाडाकी ती महिला डाक्टरलाई लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उक्त मेडिकल युनिभर्सिटीको आईसीयू कक्षमा राखेर ती महिलाको उपचार भइरहेको स्थानीय अनलाइन अमर उजालाले उल्लेख गरेको छ । अर्कातिर डाक्टरका नातेदार र साथीहरुलाई पनि निगरामी राखिएको बताइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

उपचारमा जुटेका स्वास्थ्यकर्मीहरुलाई पनि उच्च सतर्क अवस्थामा रहन भनिएको छ । क्यानाडाको टोरन्टो शहरमा बस्दै आएकी महिला डाक्टर आइतवार उत्तर प्रदेशको राजधानी लखनउ आएकी थिइन् । मंगलवार उनलाई उच्च ज्वरो आएको थियो । बुधवार उनी अस्पताल पुगेकी थिइन् । समाचार अनुसार बुधबार राती आएको रिपोर्टमा उनलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि उनलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको छ । तर, उत्तर प्रदेश सरकारले यसबारेमा औपचारिक रुपमा बताउन इन्कार गरेको छ । केजीएमयु प्रशासनले पनि यसबारे मुख खोल्न मानेको छैन ।

लखउनका स्वास्थ्य विभागका संयुक्त निर्देशक डाक्टर विकासन्दु अग्रवालले बिरामीको बारेमा विवरण संकलन भइरहेको बताएका छन् ।
यसैबीच, बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमानाकामा बिहीबारबाट कडाईका साथ चेकजाँच थालिएकोछ । नेपाल–भारत दुवैदेशका स्वास्थ्यकर्मीहरुले कोरोनाको संक्रमण फैलन सक्ने भन्दै अन्य दिनभन्दा बढि सक्रियता देखाएका हुन् ।

नेपालगन्जदेखि भारतको लखनउमा पुग्न बढीमा साढे चार घण्टा लाग्छ । नेपालको बाँके जिल्लासंग नजिक रहेको भारतको लखनउमा भेटिएको कोरोना भाइरसको संक्रमणको घटनाले नेपालगन्ज मात्र नभइ सीमावर्ती रुपैडिहा बजारसगैं भारतको बहराई जिल्लामा समेत यसको चर्चा चुलिएकोछ ।