हेल्थ डेक्समा फितलो स्वास्थ्य परीक्षण


हेल्थ डेक्समा फितलो स्वास्थ्य परीक्षण

नेपालगन्ज: नेपाल/भारत सीमाना जमुनाह नाकामा राखिएको कोरोना भाइरस हेल्थ डेस्कको चेकजाँच फितलो देखिएको छ । भारत भएर नेपाल प्रवेश गर्ने व्यक्तिहरुको चेकजाँच भद्रगोल तथा अस्तव्यस्त हुँदै आएको छ ।

जमुनाह नाकामा सवारी तथा पैदल यात्रुहरुलाई आवत जावत गर्नका लागि सडकमा तीन वटा लेन बनाइएको छ । जसमध्ये पुर्व्तिरको लेन नेपालतर्फबाट भारत जाने यात्रु तथा सवारी साधनको लागि छुट्याइएको छ । बिचको लेन र पश्चिमतर्फको लेन गरी दुइटा लेनबाट भारततर्फबाट नेपाल प्रवेश गर्ने यात्रु र सवारी साधनको लागि छुट्टयाइएको छ ।

भारत तर्फको बोर्डर बिहान ६ बजे र नेपालको बिहान ७ बजे खुलेर राती १० बजे बन्द हुने जमुनाह प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक माधव रिजाल बताउँछन् । उनकाअनुसार, हेल्थ डेस्कका स्वास्थ्यकर्मीले भने बिहान ७ बजेदेखी बेलुका ७ बजेसम्म मात्र त्यहाँ बसेर आफुले चेकजाँच गर्ने गरेका छन् ।

बेलुका ७ बजेपछि १० बजेसम्म नेपाल भित्रिने यात्रुहरु चेकजाँचबाट बञ्चित भएको उनले बताए । जमुनाहमा रहेको कोरोना हेल्थ डेस्कको बाँकेका सुरक्षा प्रमुखहरुद्वारा अनुगमन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का तथा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली लगाएतको टोलीले शनिबार बिहान हेल्थ डेस्कको अनुगमन गरेका हुन ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी प्याकुरेलले यात्रुहरुको चेकजाँच गर्ने तथा नाम र संख्याको रेकर्ड राखेको नदेखिएकाले हेल्थ डेस्कका स्वास्थ्यकर्मीलाई रेकर्ड अनिवार्य राख्न निर्देशन दिएका छन् ।

उपमहानगरपालिका स्वास्थ्य शाखाले भारत तथा भारत भएर नेपाल भित्रीने तेश्रो मुलुकका यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यले बिगत केही दिनदेखी जमुनाह नाकामा हेल्थ डेस्कको स्थापना गरेको हो ।