कोरोनाको जोखिमः भेरी अस्पतालमा छैन कुनै तयारी


कोरोनाको जोखिमः भेरी अस्पतालमा छैन कुनै तयारी

नेपालगन्ज:भारतमा फैलिएको संक्रमण नेपालगन्जमा सजिलै भित्रिन सक्ने देखिएको छ । तर, यसको रोकथाम तथा सचेतनाका लागि नेपालगन्जस्थित भेरी अस्पतालले अहिलेसम्म कुनै तयारी गरेको छैन ।

कोरोना भाइरस संक्रमित फेला परेको खण्डमा राख्नका लागि पाँच बेडको आइसोलेसन वार्ड स्थापना गरिए पनि जाँच र उपचारका लागि कुनै सुविधा नभएको अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाशबहादुर थापा बताउँछन् ।

औपचारिकताका लागि मात्र आइसोलेसन वार्ड स्थापना गरिएको उनले जानकारी दिए । आइसोलेसन वार्डमा हुनुपर्ने कुनै पनि सुविधा छैन उनले भने,‘शंकास्पद ब्यक्तिको थ्रोड स्वाब’ लिन सक्ने अवस्था समेत छैन ।’ उनले कोरोना भाइरसका शंकास्पद विरामीको थ्रोड स्वाब संकलन गर्ने ज्ञान समेत चिकित्सक र प्राविधिकलाई नभएको बताए ।

शंकास्पद बिरामीको थ्रोड स्वाब संकलन गरेर टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाउनु पर्ने हुन्छ उनले भने ‘तर पठाउनका लागि अस्पतालसँग साधन र दक्ष प्राविधिक छैनन् ।’ उनले कोरोना भाइरसका बिरामी फेला परेको खण्डमा जाँच गर्न नसकिने बताए । बिरामीको जाँच गर्ने बेला स्वास्थ्यकर्मी र चिकित्सकले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट नभएकोले जाँच गर्न सक्ने सम्भावना नरहेको डाक्टर थापाको भनाई छ ।
आफ्नो ज्यान जोखिममा राखेर कोरोना भाइरस लागेका विरामी वा शंकास्पद ब्यक्ति समक्ष जान सक्ने कुरै भएन उनले भने, रेस्क्यू गर्ने साधन पनि अस्पतालसँग छैन ।’ उनले बिरामी जाँच गर्ने बेला लगाउने ऐन ९५ मास्क पनि भेरी अस्पतालसँग नभएको बताए । शंकास्पद कोरोना भाइरसका संक्रमितलाई राख्नका लागि छुट्टै भवनमा आइसोलेसन वार्ड हुनुपर्ने बताउँदै उनले जनरल वार्ड भएको भवनमै काम चलाउ आइसोलेशन वार्ड स्थापना गरिएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना भाइरसका संक्रमित फेला परेपछि यहाँ पनि कोरोना भाइरसको जोखिम बढेको छ । नेपालगन्ज नाका भएर दैनिक सरदर पाँच हजार मानिस नेपाल–भारत ओहोरदोहोर हुँदै आएको छ । खुला सीमानाका कारण सहजै आवतजावत हुने भएकोले भारतबाट कोरोना भाइरस नेपालगन्जमा भित्रिन सक्ने सम्भावना प्रवल रहेको भेरी अस्पतालका कोरोना भाइरस फोकल पर्सन समेत रहेका ग्याष्ट्रोलोजिष्ट फिजिसियन डाक्टर संकेत रिसाल बताउँछन् । उनकाअनुसार नेपालगन्ज कोरोनो भाइरसको उच्च जोखिममा छ भन्न सकिने अवस्था देखिएको छ ।