भेरीमा मापदण्डबिनै ‘आइसोलेसन’


भेरीमा मापदण्डबिनै ‘आइसोलेसन’

नेपालगन्ज: भेरी अस्पतालमा स्थापना गरिएका आधा दर्जन आइसोलेसन वार्ड मापदण्ड विपरित छन् । यी वार्डमा आवश्यकता अनुसारको जनशक्ति र साधन स्रोतको अभाव छ ।

कोरोना भाइरस संक्रमित फेला परेपछि उनीहरूको स्वासथ्य जाँच र उपचारका लागि उक्त आइसोलेसनमा प्रयाप्त सुविधा नभएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाशबहादुर थापा बताउँछन् ।

औपचारिकताका लागि मात्र आइसोलेसन वार्ड स्थापना गरिएको उनी बताउँछन् । आइसोलेसन वार्डमा मापदण्ड अनुसार हुनुपर्ने कुनै पनि सुविधा नभएको उनले बताएका छन् ।

शंकास्पद ब्यक्तिको ‘थ्रोड स्वाब’ लिन सक्ने अवस्था समेत छैन उनले भने ‘कोरोना भाइरसका शंकास्पद विरामीको थ्रोड स्वाब संकलन गर्ने ज्ञान चिकित्सक र प्राविधिकमा छैन् ।’

Kanti Aarogya Hospital Nepalgunj

बिरामीको थ्रोड स्वाब टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाउनुपर्ने प्रावधान छ अस्पताल प्रमुख थापाले भने ‘तर उक्त स्वाब पठाउनका लागि अस्पतालसँग साधन र दक्ष प्राविधिक छैनन् ।’

बिरामीको जाँच गर्ने बेला स्वास्थ्यकर्मी र चिकित्सकले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट समेत अभाव देखिएको उनले बताए । उनले भने, ‘रेस्क्यू गर्ने साधन पनि अस्पतालसँग छैन ।’ उनकाअनुसार बिरामी जाँच गर्ने बेला लगाउने ऐन ९५ मास्क पनि भेरी अस्पतालसँग छैन् । यसले पनि बाँकेमा यस्ता संक्रमित भेटिएको अवस्थामा उनीहरूको अवस्था जोखिममा रहने निश्चित छ ।

सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आइसोलेसन स्थापना गर्ने गरेको छ । यहाँ अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै सुविधा व्यवस्था गरिनुपर्ने प्रावधान छ ।

मापदण्डअनुसार प्रत्येक आइसोलेशनमा स्पिकर जडान गर्नुका साथै तीन वटा वाशिङ् मेशिन, तौलिया, चप्पल, साबुन, मञ्जन, ब्रश, माक्स, औषधि लगायत दैनिक उपभोग्य सामग्री प्रत्येक बेडमा व्यवस्थापन गरिनुपर्छ । अझ संक्रमित विरामीले प्रयोग गर्ने शौचालय समेत अलग्गै हुनुपर्छ । तर, भेरी अस्पतालमा शौचालयको अवस्था दयनीय छ ।

एउटा कोठामा कम्तीमा एक मिटरको फरकमा दुईदेखि तीन वटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिनुपर्ने प्रावधान छ । शौचालय मर्मत, तातोपानी, खानका लागि शुद्ध पानी, कोठामा इन्टरकम टेलिफोन आबश्यक हुने मापदण्डमा उल्लेख छ । तर, भेरी अस्पतालमा रहेका आइसोलेसन वार्डमा यी सबै मापदण्ड पुरा हुन सकेका छैनन् ।