डुडुवा (बाँके): बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६, हिरमिनिया र वडा नम्बर १ होलियामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मंगलबार आयोजित छुट्टाछुट्टै समारोहमा हिरमिनिया र होलियाको स्वास्थय चौकी भवनको उदघाटन गरेका हुन् ।
नवनिर्मित हिरिमिनिया स्वास्थ्य चौकीको साढे दुई तले भवनको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले सम्पूर्ण नागरिकको स्वास्थ्यमा पहँुच तथा गुणस्तरीय स्वास्थ्य सेवाका लागि गाउँपालिकाले विशेष अभियान सञ्चालन गर्दै आएको बताए ।
उनले गाउँपालिकाले दुई स्थानमा निःशुल्क प्रयोगशाला, एम्बुलेन्स सेवा र उच्च रक्तचाप तथा मधुमेह रोगीका लागि समेत निःशुल्क औषधी वितरण गरिरहेकाले त्यसलाई विश्वासका साथ सेवन गर्न आग्रह गरे । उनले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका वडा नम्बर १ को राप्तीपारी चौफेरी, कुडुवा र वडा नम्बर ५ को डलैपुर गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने बताए ।
अध्यक्ष चौधरीले स्वास्थ्य शिक्षाका दृष्टिकोणले पछि रहेको भन्दै सचेतनामुलक कार्यक्रम संगै नागरिकको सोँचमा परिवर्तन गर्नुपर्नेमा जोड दिए । साविक जिल्ला विकास समिति बाँकेका पुर्व सभापति पशुपतिदयाल मिश्रले हिरिमिनिया क्षेत्रको समग्र विकासका लागि सदैब लागि परेका बताउँदै अहिले पनि स्वास्थ्य, शिक्षा तथा कृषिका लागि विशेष प्याकेज ल्याउनु पर्नेमा जोड दिए ।
डुडुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख अंगदबहादुर शाही, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले आफ्ना विचार राखेका थिए ।
५ कठठा जमिनमा १ करोड २८ लाख ६५ हजार ४ सय १२ रुपैयाँ लागतामा साढे दुई तलाको भवन निमार्ण गरिएको स्वास्थ्य चौकी इन्चार्ज भिमबहादुर विकले बताए ।
यस्तै डुडुवा गाँउपालिकाको वडा नम्बर १, होलिया स्थित स्वास्थ्य चौकीको ३ कोठे भवनको पनि मङ्गलबार उद्घाटन गरिएकोछ । त्यस अवसरमा स्वास्थ्य चौकीको भवन निमार्णका लागि जग्गा दान गर्ने समाजसेवी हरिनारायण चौधरीलाई सम्मान गरिएको थियो ।
उनले स्वास्थ्य चौकीका लागि २ कठठा जग्गा दान गरेको स्वास्थ्य चौकी इन्चार्ज कमल प्रसाद उपाध्यायले जानकारी दिए । त्यस अवसरमा दुई वटै स्वास्थ्य चौकी भवन निमार्ण कार्यमा उल्लेख्य योगदान पु¥याएका स्थानीयबासी तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
गाउँपालिकाको वडा नम्बर २ बेतहनी, वडा नम्बर ५ को कम्दी र वडा नम्बर ६ को हिरिमिनिया स्वास्थ्य चौकीको अत्याधुनिक भवन निमार्ण भई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हुदै आएकोछ ।