File Photo
नेपालगन्ज: बाँकेको नरैनापुर गाउँपालिकाका थप चार स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । यसअघि एक स्थानमा हेल्थ डेस्क स्थापना गरिएको थियो ।
विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण रोक्न भारत आवतजावत हुने थप चार स्थानमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार भएको बैठकमा रोशनपुर्वा, घोरदौरिया, भगवानपुर र सोनवर्षामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख मोइन खाँले जानकारी दिए ।
सुइया नाकामा भने यसअघि नै हेल्थ हेस्क स्थापना गरिएको थियो । भारतको उत्तर प्रदेशमा पनि कोरोना संक्रमित बिरामी भेटिएकाले खुला सीमाका कारण बढेको जोखिमलाई मध्यनजर गर्दै नरैनापुरबाट भारततर्फ बढी आवतजावत हुने स्थानमा अनिवार्य स्वास्थ्य परीक्षण गर्ने गरी हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इस्तिायक अहमद शाहले बताए ।
‘सकेसम्म अब सीमा वारपार नगर्न हामी सबै नागरिकलाई अपील गर्दछौं, अत्यावश्यक काम बाहेक अन्य समयमा धेरैं हिंड्डुल नगर्न हाम्रो आग्रह छ,’ अध्यक्ष शाहले भने, ‘पूर्व सावधानी स्वरुप नरैनापुरका विभिन्न क्षेत्रबाट भारत आवजआवत गर्ने नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य रुपमा गर्ने ब्यवस्था मिलाउँछौं ।’ प्रत्येक हेल्थ डेस्कमा एक सिफ्टमा दुई जना स्वास्थ्यकर्मी रहने गरी प्रहरीको सहयोग लिएर हेल्थ डेस्क सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख खाँले बताए । त्यस्तै सर्वसाधारणलाई कोरोना भाइरसका लक्षण र यसको संक्रमण हुन नदिन अपनाउनुपर्ने सजकताका बारेमा जानकारी दिन माइकिङ्ग गर्ने निर्णय भएको छ ।
माइकिङ्ग गर्दै घरघरमा पर्चा पम्प्लेट पनि वितरण गरेर नागरिकलाई स्वास्थ्य सजकता अपनाउन अपील गरिने स्वास्थ्य शाखाका उपप्रमुख नागेन्द्र कुमार शाहले बताए । स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत अंगत बहादुर शाहीले खुला सीमाका कारण नरैनापुरमा पनि कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै भारत आवतजावतमै कडाई गर्न जरुरी रहेको बताए ।
सर्वसाधारणलाई कोरोनाको संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउन आवश्यक रहेकाले जनप्रतिनिधिहरुले यसतर्फ ध्यान दिनुपर्ने सुझाब दिए । सुइया नाकामा बुधबार विहान ९ बजेसम्म २ हजार ४ सय २८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।