बुटवल: बुटवलमा एकसय बेडको आइसोलेसन अस्पताल निर्माणको काम तिव्र रुपमा अघि बढेको छ । बुटवल उपमहानगरपालिकाको अगुवाईमा रामनगरस्थित औद्योगिक क्षेत्रमा सय बेडको आइसोलेसन अस्पताल निर्माण हुन लागेको हो ।
उपमहानगरले बन्द अवस्थामा रहेको धागो कारखानालाई आइसोलेसन अस्पतालका रुपमा प्रयोग गर्न थालेको छ । शुक्रबार बिहानबाट सुरु भएको अस्पताल निर्माणको काम २४ घण्टाभित्र सक्ने तयारी छ ।
कोरोना भाइरस संक्रमितको उपचारका लागि कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको हो । अस्पताल शनिबारसम्म सञ्चालन हुने गरी निर्माण थालिएको बुझिएकोछ ।
यतीबेला बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका १० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन ८० जना काममा खटिएका छन् । नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवाहरु अस्पताल निर्माणमा खटिएका छन् ।
अहिले आइसोलेसनसंगै बाहिरी क्षेत्रमा घेरबार लगाउने, शौचालय बनाउने र भवन परिसरलाई नै संक्रमणरहित बनाउने काम भइरहेको छ ।
बुटवलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बिरामी नभेटिए पनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार÷पाँच जना विरामी आउने गरेका छन् ।