शंखधर चोक बनाउँन ज्ञापनपत्र


शंखधर चोक बनाउँन ज्ञापनपत्र

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका भित्र राष्ट्रिय विभूति शंखधर शाख्वाको नाममा चोकको नामाकरण र मूर्ति स्थापना गर्ने बारे बाँकेका प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ, बाँकेका अध्यक्ष डम्बर थापा मगरको नेतृत्वमा गएको विभिन्न १३ वटा संघसंस्थाहरुका अध्यक्ष लगायतको प्रतिनिधि मण्डलले सो ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।


नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा नं. १८ कारकाँदो चोकमा मल्लकालीन राजाको शासनकालमा नेपालका सबै नागरिकको ऋण तिरेर देशलाई ऋण मुक्त घोषणा गर्ने शंखधर शाख्वालाई नेपाल सम्वत् प्रचलनमा ल्याउन अनुमति दिएकोल प्रजातन्त्रको पुनःस्थापना पछि राष्ट्रिय विभूतिको रुपमा सम्मान गरिएको हुँदा उनको नाममा चोकको नामाकरण र मूर्ति स्थापना गर्ने बारे १७ वर्षदेखि पहल भइरहेको छ ।


तत्कालीन खासकारकाँदो गाउँ विकास समितिको मिति २०५८/७/५ मा भएको गाउँ परिषद्को बैठकबाट सो स्थान र चोकलाई राष्ट्रिय विभूति शंखधर शाख्वा चोकको नामाकरण र राष्ट्रिय विभूतिको प्रतिमा स्थापना गर्ने सर्वसम्मत निर्णय गरेको थियो र उक्त चोकका लागि नेवाः पुचः बाँकेको अगुवाई र अग्रसरतामा मन्त्रालयसम्म प्रक्रिया अघि बढाइएको थियो ।


नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज नगर भित्र ‘घण्टाघर र उद्योग स्तम्भ’ निर्माण गर्ने र सो स्तम्भको एक भागमा राष्ट्रिय विभूति शंखधर शाख्वाको मूर्ति राख्ने सहमति र प्रतिवद्धता भएको, तर पछि संघले उपेक्षा र उदासिनता देखाएकोमा ज्ञापन पत्रमा गम्भीर आपत्ती जनाइएको छ ।


ज्ञापनपत्रमा प्रमुख जिल्ला अधिकारीलाई प्रमुख राजनीतिक दल, सरोकारवाला संघसंस्थासंग समन्वय र सर्वपक्षीय बैठक बोलाई छिनोफानो गर्न आवश्यक पहल गरी राष्ट्रिय विभूतिको सम्मान र सहयोग गर्नका लागि आग्रह गरिएको छ ।