नेपालगन्जः विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको संक्रमणबाट वडाबासीलाई बचाउन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले स्वास्थ्य र सरसफाई सचेतना सुरु गरेको छ ।
वडा अध्यक्ष दीपक बर्माको अगुवाईमा सोमबार वडाका विभिन्न स्थानमा ट्यांकीसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको हो । वडा अध्यक्ष बर्माको अगुवाईमा सोमबार नेपालगन्ज कारकादों चोक, सिक्टा कार्यालय अगाडी र भुजईगाउँस्थित बुद्ध चोकमा कोरोना भाईरसबाट जोगिन सचेतनामुलक ब्यानरसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको छ ।
हात धोऔं, कोरोना भाइरसबाट बचौं भन्ने सन्देश वडाबासीमा पु¥याउन यस्तो अभियान सुरु गरिएको वडाअध्यक्ष बर्मा बताउँछन् । वडाबासीको बढि जमघट हुने स्थानमा साबुनपानीको ब्यवस्था गरिएको हो ।
वडा अध्यक्ष बर्माले भिडभाड नगर्न र सेल्फ क्वारेन्टाईमा घरभित्रै बस्न वडाबासीमा आव्हान गरे । वडा सदस्य दिग्विजय ढुंगानाले वडाबासीको स्वास्थ्यप्रति जनप्रतिनिधीहरु गम्भीर भएको बताए ।
उनले वडा कार्यालयबाट सेवा प्रबाह नगरेपनि जनप्रतिनिधीहरु वडाबासीमाझ स्वास्थ्य र सरसफाईको सन्देशसहित पुगेको बताए । वडा अध्यक्ष बर्माका अनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न वडाभित्रका माईकिङ्ग गर्दै विपन्न समुदायका परिवारलाई निःशुल्क सावुन र मास्क वितरण गरिने भएको छ ।