कोरोना संक्रमितका लागि प्रदेशमै छैनन् ‘आईसीयू बेड’


कोरोना संक्रमितका लागि प्रदेशमै छैनन् ‘आईसीयू बेड’

नेपालगन्ज: कोरोना संक्रमितका लागि सरकारले देशभरका अस्पताललाई आइसोलेसन वार्ड र भेन्टिलेटर सहितको आईसीयू बेड तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । तर, प्रस्तावित लुम्बिनी प्रदेशका अधिकांश अस्पतालले सरकारको यस्तो निर्देशनको बेवास्ता गरेका छन् । यद्दपी यस्तो सुविधा नेपालगन्जको भेरी अस्पतालमा समेत देखिदैन् ।

आईसीयू बेड अभाव रहेको भन्दै अस्पतालहरूले भेन्टिलेटर सहितको आईसीयू बेड व्यवस्थापन गर्न नसकिएको भेटिएको छ । प्रदेशकै ठूलो अस्पतालका रूपमा रहेको भेरी आईसीयू कक्ष भएपनि कारोनाका विरामीकै लागि भने अलग्गै सरकारले तोकेको मापदण्डअनुसारकै आईसीयू बेड नभएको अस्पतालका प्रमुख डाक्टर प्रकाशबहादुर थापा बताउँछन् ।

तत्काल कोभिड–१९ का बिरामी नदेखिएकाले आईसीयू बेड छुट्याएर नराखिएको उनले जानकारी दिए । अस्पतालमा एउटा कोरोनाको विरामी आए अस्पताल नै खाली गर्नपर्ने अवस्था रहेको उनी बताउँछन् ।

भेरीमा कुनै बिरामी कोभिड–१९ ले गम्भीर भएर आईसीयू चाहियो भने पहिलेदेखि बसेका बिरामी हटाउनु पर्ने अवस्था छ । अस्पताल प्रमुख थापाकाअनुसार भेरीमा नभएपनि खजुराको क्यान्सर अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू बेड र आइसोलेशन तयार भइरहेको छ । उनले थपे ‘खजुरामा बेड बन्दै गरेकोले हामी ढुक्क छौं ।’

Kanti Aarogya Hospital Nepalgunj

प्रदेशको वुटवलस्थित लुम्बिनी अस्पताल र दाङस्थित राप्ती अस्पतालमा समेत यस्तो सुविधासहितको आइसोलेशन छैन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्व्िनर्देशक डा. बाबुराम मरासिनीका अनुसार कोभिड–१९ का बिरामीमध्ये ५ प्रतिशत शिथिल हुन सक्छन । त्यस्ता बिरामीलाई भेन्टिलेटरसहितको आईसीयूमा राखेर उपचार गर्नुपर्ने उनी बताउँछन् ।

‘कोभिड–१९ जस्तै आपतकालीन अवस्था वा महामारी व्यवस्थापनका लागि सबै अस्पतालले २० प्रतिशत बेड सधैं खाली राख्नुपर्छ यनले भने ‘यो अन्तर्राष्ट्रिय मापदण्ड हो ।’ तर, भेरी अस्पतालले ६ वटा आइसोलेसन वार्ड बनाएपनि कोभिड–१९ का बिरामी राख्न आईसीयू बेड भने नबनाएको अस्पतालका प्रमख थापाले बताए ।

राप्ती अस्पतालका अनुसार कोभिड–१९ का बिरामीकै लागि भनेर आईसीयूसहितका बेड छुट्याउन सक्ने अवस्था छैन । ‘त्यस्ता बिरामी आइहाले सरकारले हामीलाई आईसीयू र तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिदिनुपर्छ अस्पतालका एक अधिकारीले भने, ‘बसिरहेका बिरामी सारेर अरुलाई कसरी राख्ने ?’

कोभिड–१९ को जोखिम उच्च रहेकाले अन्य अस्पतालमा आइसोलेसन वार्ड र आईसीयू खोज्नुभन्दा छुट्टै अस्पताल निर्माण गर्नुपर्ने डाक्टर मरासिनी बताउँछन् । ‘छुट्टै अस्पताल बनाउन नसके सञ्चालनमा नआएका ठूला होटलमा क्वारेन्टाइनसहितको अस्पताल चलाउन सकिने उनले बताए ।

उनका अनुसार संक्रमण व्यवस्थापन गर्न अस्पतालमा पर्याप्त पूर्वाधार मात्र होइन, तालिम प्राप्त स्वास्थ्यकर्मीको समेत अभाव छ । संक्रमणजन्य रोगको उपचारका लागि सामान्य नर्स र प्रयोगशाला कर्मीले काम गरेर हुँदैन उनले भने, ‘विशेष तालिम नै दिनुपर्ने हुन्छ ।
कोरोना भाइरस संक्रमित बिरामी भर्ना हुने अस्पतालमा स्वास्थ्यकर्मी र अस्पताल आउजाउ गर्ने मानिसलाई सर्ने उच्च जोखिम छ ।

जनस्वास्थ्य विशेषज्ञहरूले कोभिड–१९ को संक्रमणविरुद्घ सरकारको पूर्वतयारी पर्याप्त नरहेको बताएका छन । एक्कासी संक्रमण देखिएको खण्डमा समस्या भयावह हुने भन्दै सतर्कतातर्फ मात्र नभई रोकथाम र उपचारतर्फ केन्द्रित हुनुपर्ने जनस्वास्थ्यविद् डाक्टर शरद वन्त बताउँछन् । सरकारी निकाय मौसम हेरिरहेका छन, तयारी गरिरहेका छैनन, भएका तयारी पनि सुस्त देखिएका छन् । यसले कोरोना जोखि बढ्दै गएको उनी बताउँछन् ।

रोग निदान र उपचारमा तयारी छैन, आवश्यक प¥यो भने ठूलो संख्यामा आइसोलेसन र क्वारेन्टाइनमा कहाँ राख्ने ? सरकारले अत्यावश्यक खाद्यान्न र औषधिको आपूर्ति कसरी गर्नेजस्ता तयारी नै गरेको देखिन्न डाक्टर मरासिनी भन्छन ‘सामाजिक संघसंस्थाले पनि खासै चासो देखाएका छैनन, यस अर्थमा चेतना छ भन्ने अवस्था देखिदैन् ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशमा कोभिड–१९ को संक्रमण देखिइ नसकेकाले सरकार हाल रोकथाममा बढी केन्द्रित रहेको बताउँछन् ।