सावधान ! आँखा र नाकबाट पनि कोरोना सर्छ: डा.योगी


सावधान ! आँखा र नाकबाट पनि कोरोना सर्छ:  डा.योगी

नेपालगन्जः डाक्टर सुभाष योगीले कोरोना भाइरस आँखा, नाक र मुखबाट सर्ने भएकाले कसैले पनि अनावश्यक अनुहारमा हातले नछुन आग्रह गरेका छन् ।

डाक्टर योगीले यी कोरोना भाइरसका लागि संवेदनशील अङ्ग भएकाले सावधानी अपनाउन सवैलाई आग्रह गरेका हुन् । ‘धेरैलाई मुखबाट मात्र सर्छ भन्ने भ्रम रहेको छ, त्यसो होईन औंलाले नाक चिलाउदाँ, आँखा चिलाउँदा, आँखाभित्रको कचेरा औलाले कोट्याएर फाल्दा पनि कोरोना सर्न सक्छ ।’ डाक्टर योगीले भने ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत फिजिशियन डाक्टर योगीले हातमा स्यानिटाईजर लगाईरहन र सावुनपानिले बारम्बार हात मिचिमिचि धुन सुझाव दिएका छन् ।

कहिँ गएर कुर्सीमा बस्दा यदि कुर्सीको हात राख्ने ठाँउमा भाइरस छ र हामी त्यही गई कुर्सीमा बसेर हात राख्यौं भने पनि भाइरस सर्ने बताउँदै आफ्नो घरभन्दा अनेत्र गएर बस्दा ख्याल गर्न र तुरुन्त स्यानिटाइजर अथवा सावुन पानिले हात धुनुपर्ने डाक्टर योगी बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

विश्व ब्यापी महामारी बनेको कोरोना भाइरसबाट बच्न सुरक्षितरुपमा घरमै बस्नुको विकल्प नभएको बताउँदै डाक्टर योगीले कोरोना लाग्दैमा मरिहाल्ने हुदैन तर सावधानी नअपनाउदाँ मृत्युको मुखमा पुग्ने बताउँछन् ।

घरपरिवारमा पनि कोही कसैलाई कोरोना भाइरसको संक्रमणको लक्षण देखिएमा घरमै अलग्गै बस्नुपर्ने र सावधानी अपनाउनुपर्ने डाक्टर योगीले बताए ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने व्यक्तिमा भाइरसको असर बढि हुनेभएकाले लकडाउनका अवधिमा घरमै बसेर सामान्य शारिरीक व्यायाम, योगा जस्ता कार्य गर्दा रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि हुने डाक्टर योगीले बताए ।