नेपालगन्ज: धनगढीमा देशको चौथो कोरोना भाइरस संक्रमित भेटिएको २४ घण्टा वित्न नपाउदै पाँचौं कोरोना संक्रमित भेटिएकाछन् । कोरोना भाइरसले विश्वजगत त्रासमा रहेको बेला नेपालमा एक दिन वित्न नपाउदैँ कोरोना भाइरसको अर्को संक्रमित भेटिएको हो ।
यो सगैं नेपालमा कोरोना संक्रमणको संख्या ५ पुगेकोछ । जसमा एक जना पूर्ण निको भइसकेकाछन् ।
कोरोना भाइरसको संक्रमित दिनानुदिन भेटिदै जाँदा आम नेपालीमा त्रासको वातावरण सिर्जना भएकोछ । एकातिर सरकारको प्रभावकारि जाँचको संयन्त्र नहुनु र दिनानुदिन कोरोना संक्रमणको संख्या बढ्दै जानुले नेपालको स्वास्थ्य सुरक्षा चुनौतीपूर्ण बन्दै गएकोछ ।
प्राप्त जानकारी अनुसार अहिले भेटिएको कोरोना भाइरस संक्रमित र दोस्रो कोरोना भाइरस संक्रमित व्यक्ति एउटै विमानमा नेपाल आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार एयरवेजको विमान चढेर कतार हुँदै नेपाल आएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी २२ वर्षकी युवती हुन् । उनी चैत ४ गते (१७ मार्च) को दिन कतार एयरवेजको क्यू आर ६५२ उडानबाट आएकी हुन् ।
त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।