डुडुवा (बाँके): कोरोना भाइरसको संक्रमणबाट बच्न तथा प्रभावकारी व्यवस्थापनका लागि बाँके डुडुवा गाउँपालिकाले ११ बेडको क्वारेन्टाइन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर २ स्थित बेतहनी स्वास्थ्य चौकीमा आज शनिबार ११ शैययाको क्वारेन्टाइन तयार गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए ।
उनका अनुसार क्वारेन्टाइनमा बेडसंगै साबुन पानी, सेनीटाइजर, हैण्डवास, डस्टबीन, सामान्य औषधी लगायत चाहिने आधारभुत कुराहरुको समेत व्यवस्थापना गरिएको छ ।
गाउँपालिकामा ३० बेडको क्वारेन्टाइन बनाउने लक्ष्य अनुसार गाउँपालिकाको वडा नम्बर ४ कम्दीस्थित आधारभूत विद्यालय शाहपुर्वा र वडा नम्बर ६ हिरिमिनियामा आवश्यकता अनुरुप थप १०–१० बेडको क्वारेन्टाइन तयार गरिने छ ।
नेपाल–भारत सीमासगं गाउँपालिका जोडिएकाले भारतबाट समेत मानिसहरु आउने क्रम नरोकिएको हुदाँ तथा सरकारको नीति अनुसार क्वारेन्टाईन तयार गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
अहिले गाउँपालिकामा स्वास्थ्य सरसफाई तथा जोखिमबाट बच्नका लागि उच्च सर्तकता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामुलक सन्देशसहितको माइकिङ्गको कार्य भईहेको छ ।
अध्यक्ष चौधरीले सम्पूर्ण गाउँबासीलाई अत्यावश्यक अवस्था बाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै गाउँबासीलाई सन्देश समेत दिएका छन् । रोनाबाट उत्पन्न जटिल समस्याको व्यवस्थापन तथा कार्यन्वयनका लागि गाउँपालिकाले यसअघि ७ लाखको आकस्मिक कोष स्थापना गरेको छ ।