डुडुवामा भारतबाट आएका २५ जनालाई क्वारेन्टाइएनमा राखियो


डुडुवामा भारतबाट आएका २५ जनालाई क्वारेन्टाइएनमा राखियो

File Photo

डुडुवा (बाँके): भारतबाट आएका नेपालीलाई डुडुवा गाउँपालिकाले अस्थायी क्वारेन्टाइनमा राखेको छ । डुडुवा गाउँपालिका वार्ड नम्बर ६, हिरिमिनिया सीमा नाका उधुमगन्जमा भारतबाट आएका २३ जना नेपालीलाई पोस्ट नजिकै टेन्टमा राखिएको छ ।

सो पोस्टमा स्थापना गरिएको हेल्थ डेस्कमा तिनीहरुको स्वास्थ्य परीक्षण गरि मास्क, सामान्य औषधी वितरण गरि तीन दिनदेखि टेन्टको अस्थायी क्वारेन्टाइनको व्यवस्था गरि राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए ।

तिनीहरुलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको विशेष पहलमा खाना, नास्ता, पानी लगायतको व्यवस्था गरिएको छ । पालिका अध्यक्ष चौधरीले तिनीहरुलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएकाछन् । ती नेपालीहरु दैलेख, सुर्खेत, सल्यान, गोर्खा लगायत जिल्लाका रहेका छन् ।

भारतबाट आएका नेपालीमा सामान्य ज्वरो, रुघाखोकी जस्ता कुनै पनि लक्षण नदेखिएपछि त्यही क्वारेन्टाइनमा राखिएको र घर पठाउनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेलाई समेत आवश्यक पहलसंगै जानकारी गराइएको अध्यक्ष चौधरीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरि डुडुवा गाँउपालिकाको नयाँबस्ती नाकामा आएका दुई जनालाई सो स्थानमा स्थान्तरण गरिएको छ । गाउँपालिकासंग सीमा जोडिएको ३ वटा स्थानमा गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरि भारतबाट आएकाहरुको स्वास्थ्य परीक्षणको कार्य गर्दै आइएको छ ।