नेपालगन्जः बैदेशिक रोजगारका क्रममा भारत गएका नेपालीहरु फर्किने क्रम बढेसगैं बाँके लगायत आसपासका पहाडी तथा हिमाली जिल्लाहरु पनि कोरोना संक्रमणको उत्तिकै जोखिममा देखिएकाछन् ।
भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका आम नेपाली भारतमा कोरोनाको संक्रमण उच्च देखिएसगैं नेपाल फर्किने क्रम बढेको हो ।
यसअघि भारतमा रहेका नेपालीहरु बाँकेको जमुनाह नाका हुदै नेपालगन्ज र देशका विभिन्न नाकाबाट नेपाल प्रवेश गर्न थालेपछि नेपाल सरकारले देशभर लकडाउन घोषणा गर्दै सीमानाका बन्द गरेको छ । सरकारको उक्त निर्णयसगैं कोरोना भाइरसको उच्च जोखिममा नेपालगन्ज देखिएपछि बाँके प्रशासनले जिल्लाभर जनता कफ्र्यू समेत घोषणा गरेको थियो । त्यसको भोलीपल्ट भारतीय सरकारले पनि भारतमा कोरोनाको जोखिम देखिएको भन्दै २१ दिने लकडाउन गरेको थियो ।
उक्त लकडाउन विहीबारसम्म पनि कायमैछ । तर, भारतका विभिन्न शहरबाट नेपाल आउने नेपालीहरुको संख्यामा भने कमी आएको छैन । भारतीय प्रहरी र त्यहाँका ब्यवसायीले कामदारका रुपमा रहेका नेपालीलाई रातारात नेपाल लखेट्न थालेपछि बाँकेको जमुनाह नाकाका साथै आसपासका छोटी नाकाहरुमा दैनिकजसो नेपालीहरुको लस्कर देख्नेगरिएकोछ ।
नेपाल–भारत सीमामा नेपालीको भीडभाड बढेसगैं बाँकेको नेपालगन्जमा रहेको उज्यालो लालीगुराँस गारमेन्ट तथा पूर्णतारा फाउण्डेशनले यसरी नेपाल आएका नेपालीको स्वास्थ्यलाई मध्यनजर गर्दै विहीबार निःशुल्क माक्स वितरण गरेको छ ।
पाँचदिनदेखि जमुनाह नाकामा रहेका करिब २ सय नेपाली नागरिकलाई उक्त संस्थाकी अध्यक्ष ताराकुमारी खत्री रोकायाले दशगजामा मै पुगेर निशुल्क माक्स वितरण गरेकी हुन् ।
भारतमा कोरोना भाइरसको जोखिम बढेको र नेपाली दाजुभाइहरु त्यहीबाट नेपाल आएको कारण उनीहरुमा पनि स्वास्थ्य समस्या हुन सक्ने भन्दै केही हदसम्म राहत हुने अपेक्षा सहित उक्त माक्स वितरण गरिएको अध्यक्ष तारा बताउँछिन् ।
उनले सीमानाकामा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, नेपाली सेनाका कर्णेल नकुल थापा, बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओली लगायत सीमानाका सुरक्षाका लागि खटिएका करिब एक सय सुरक्षाकर्मी र भारतबाट आएका ती नेपाली नागरिकलाई गरि करिब पाँच सय थान माक्स वितरण गरेको बताईन ।
नेपालगन्जमा माक्सको अभाव बढेसगैं उक्त सस्थाले स्थानीय स्तरमै सुती (कटन) कपडाको डबल कोडेट माक्स उत्पादन थालेको थियो । माक्स उत्पादन र बजार अभावलाई ध्यान दिएर उनले कोरोना भाइरसको संक्रमण देखिन थालेसगैं नेपालगन्ज र आसपासका पालिकामा समेत माक्स वितरण गर्दै आएकी छन् ।
समाजसेवामा समेत औधी रुची राख्ने अध्यक्ष ताराले सेवा नै धर्म हो भन्ने भावनाबाट अभिप्रेरित भइ संक्रमणको अवस्थामा उत्सुक्ताका साथ सक्रियता देखाएकी सहकर्मी भावना रोका बताउँछिन् ।
तारासगैं भावना पनि दैनिक संक्रमणको घडिमा आमनागरिकलाई कोरोना भाइरसबाट बच्न र बचाउन सचेतना फैलाउदै माक्स वितरण लगायतको अभियानमा सक्रिय लागिपरेकी छन् ।