नेपालगन्ज:कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आर्थिक सहयोग गरेकोछ ।
सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा इन्सेकले आर्थिक सहयोग गरेको हो । इन्सेकले १० लाख ४ हजार ६ सय ५४ रुपैयाँ राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।
देशभर इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारी, ७७ जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीहरूको सात दिनको तलब वापतको रकम उक्त कोषमा जम्मा गरिएको ईन्सेकका प्रस्तावित लुम्बिनी प्रदेश संयोजक भोला महतले जानकारी दिए ।
सेतोखरीसंग कुरा गर्दै प्रस्तावित लुम्बिनी प्रदेश संयोजक भोलाले भने–‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमण फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि ईन्सेकले यस्तो निर्णय गरेको हो ।’
उनले अगाडी थपे–‘नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई सहयोग गर्ने उद्देश्यका साथ यो सामाजिक उत्तरदायित्व पुरा गरेकाछौं ।’
अझपनि देशका विभिन्न सीमानाकामा नेपालीहरुको आवागमन जारी रहेको र नेपालका क्वारेन्टाईनमा रहेका आम नेपाली नागरिकको उचित गास, बास तथा स्वास्थ्य उपचारलाई प्रभावकारिरुपमा अगाडी बढाउन सरकारसंग उनले माग गरे ।’