नेपालगन्ज: नेपालगन्जको भेरी अस्पतालमा कोरोना भाइरस संक्रमण उपचारमा प्रयोग गरिने उपकरण पिसीआर जडान गरिने भएकोछ । शनिबार प्रस्तावित लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोभिड–१९, परीक्षण गर्ने पोर्टेबल आरटी पिसीआर उपकरण भेरी अस्पतालमा तत्काल जडान गरिने बताएका हुन् ।
त्यसको पुर्वतयारीका लागि नेपालगन्ज आएका मन्त्री बरालले भेरी अस्पताल र बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालमा रहेका आइसुलेसन वार्डको अनुगमन गरेका थिए ।
मन्त्री बरालले पिसिआर मेसिन राख्ने ठाउँको अनुगमन गर्नुका साथै अस्पताल र मेसिनका बारेमा जानकारी लिएको अस्पतालका प्रमुख डाक्टर प्रकास थापाले बताए ।
डाक्टर थापाले उपकरण जडानका लागि द्रुत गतीमा काम भइरहेको र अबको एक हप्ता भित्रमा पिसिआर मेसिनबाट काम शुरु हुने बताए । यसले बाँके, बर्दिया लगायत यस क्षेत्रका विभिन्न जिल्लाबाट आउने कोरोना भाइरस संक्रमणका विरामीको उपचार तथा स्वास्थ्य जाँचमा सहजता हुने भएकोछ ।
कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्य उपकरण पिसीआर मेसिन खरीद र स्वास्थ्य सामाग्री लगायतका बस्तुहरु आपूर्ती गर्नकालागि कोटेशन माग गरिएको पनि अस्पतालका प्रमुख डाक्टर थापाले जानकारी दिए । प्रदेश सरकारको लगानीमा भेरी अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेसिन खरीद तथा जडान गरिने भएकोहो ।