नेपालगन्ज: कोरोना भाइरसको जोखिम बढेसँगै यहाँका आमनागरिकमा विविध खालका समस्या आइरहेका छन् । बिशेषगरी मजदूरहरू खास जोखिममा देखिएका छन् ।
काम गरेरै विहान साँझको छाक टार्ने यहाँका विपन्न वर्गमा यतिबेला चुल्हो बाल्ने नै समस्या हुन थालेको छ ।भएको खादान्न सकिएपछि उनीहरू यतबेला हातमुख जोर्ने तनावमा देखिएका छन् । उनीहरूको समस्या र कारेन्टाइनमा बसेकाहरूको दैनिक खानपानका लागि इन्सेकको समन्वयमा राहत वितरण गरिएकोे छ ।
इन्सेकको प्रस्तावित लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको समन्वयमा यहाँको नेपालगन्ज मेडिकल कलेज, सेन्चुरी इन्फोटेक, मर्निङवाक ग्रुप लगायतका संस्थाले नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा नेपालगन्जको गुरूद्वारामा खाना व्यवस्थापन गर्दै आएको शिख समूदायलाई उक्त राहत प्रदान गरेको इन्सेकका प्रदेश संयोजक भोला महतले जानकारी दिए । उनकाअनुसार चामल, दाल लगायतका उपभोग्य खाद्य बस्तु प्रदान गरिएको छ ।
मजदूर, विपन्न, गरिब आमनागरिकको रोजरोटी गुमेको छ । कतिपयका घरमा आगो बलेको छैन् । राहतका नाममा सरकारी तथा गैरसरकारी संस्था र व्यक्ति कोष खडा गरेका छन् । तर, यस्ता पीडितले राहत पाएका छैनन् । बाँकेको नेपालगन्ज लगायतका यहाँका आठवटै स्थानीय तहमा गठित राहत कोषबाट समेत पीडितले राहत स्वरूप पाउनुपर्ने सुविधा नपाएको नागरिकले बताएका छन् ।
कोरोनाबाट प्रभावित नागरिकलाई सरकारी तथा गैरसरकारी निकायले आफूखुशी राहत बाड्ने गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरी राहत वितरणमा एकद्वार प्रणाली अवलम्बन गर्न निर्देशन दिएको हो । तर, बाँकेमा उक्त प्रणाली कतिपय पालिकामा लागू भएको देखिदैन् ।