राहत बाँडेको फोटो अनावश्यक रुपमा पोष्ट नगर्न अध्यक्षको निर्देशन
नरैनापुर(बाँके) :बाँकेको नरैनापुर गाउँपालिकामा आजदेखि राहत वितरण शुरु भएको छ ।
पालिकाका ६ वटै वडामा राहत वितरण शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । उनका अनुसार ६ वटा वडाका ८ सय जना श्रमिक र असहायहरुलाई राहत वितरण गरिँदैछ ।
प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नुन र २ वटा साबुन वितरण गरिएको खरालले बताए ।
‘६ वटै वडामा एक साथ राहत वितरण शुरु गरेका छौं, सामाजिक दूरी कायम गरेर वडा कार्यालय मार्फत् वितरण भइरहेको छ,’ गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले भने–‘देखाउनकै लागि अनावश्यकरुपमा राहत बाँडेको फोटो सामाजिक सञ्जालमा नराख्न जनप्रतिनिधी सबैलाई निर्देशन दिएको छु ।’
अध्यक्ष शाहले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने ब्यक्तिहरुदेखि लिएर गरीब, विपन्न र असहायहरुको तथ्यांक तयार गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताए ।
आवश्यकता अनुसार राहत वितरणको दायरालाई फराकिलो बनाउँदै लैजाने लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।