डडेलधुरा: कोरोना भाइरसको जोखिम देखिएपछि डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकले उच्च सतर्कता अपनाएको छ । नगरपालिकामा भारतलगायत अन्य ठाउँबाट आएका मानिसको अवस्थाबारे जानकारी लिन स्वास्थ्यकर्मी घरदैलो कार्यक्रममा जुटिरहेका छन् ।
सेल्फ क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य अवस्था बुझ्नुका साथै कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मी घरदैलोमा जुटेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताए । बस्ती तथा घरमा गएर मास्क वितरणसँगै स्वास्थ्य सचेतीकरण जगाउन अभियान सञ्चालन गरेको उग्रतारा स्वास्थ्य चौकी अमरगढी ७, पोखराका प्रमुख ललित केसीले बताए ।
अहिले जिल्ला सदरमुकाममा कीटनाशक औषधि छर्किनेदेखि सबै पालिकामा लकडाउनलाई पूर्ण रूपमा कार्यान्वयन गराउन स्थानीय बासिन्दा, प्रहरी प्रशासन, जनप्रतिनिधि सक्रियताका साथ काम गरिरहेका छन् ।
अमरगढी नगरपालिकाले सार्वजनिक क्षेत्रमा कीटनाशक औषधि छर्कन सुरु गरेको छ । भारतबाट आएका नेपाली धेरै भएकाले अमरगढी नगरपलिकाले वडा १० र ११ लाई सिल गरेको हो । सिलसँगै यी दुई वडाभित्रका नागरिकले एउटा घरबाट अर्को घर जानसमेत नपाइने अमरगढी नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।
जिल्लाको परशुराम नगरपालिकाको तातोपानी, शीर्ष र असुरानी क्षेत्रमा सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले जानकारी दिए । अहिले जिल्लाको ती नाकामा ३० जनाको टोली खटाइएको छ । डडेल्धुराका तीन साना नाकामा सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए । –रासस