म्याग्दी: म्याग्दीमा गाउँपालिकाका प्रवेश स्थलमा स्वास्थ्य सहायता कक्ष स्थापना भएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले सदरमुकाम बेनीहुँदै आफ्नो गाउँपालिका प्रवेश हुने स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका हुन् ।
बुधबारदेखि सञ्चालनमा आएका ती स्वास्थ्य सहायता कक्षमा गाउँपालिका प्रवेश गर्दा चालक, सहचालक र यात्रुहरुलाई ईन्फारेट थर्मो्मिटर गनलगायत अन्य स्वास्थ्य सामग्रीबाट ज्वरो तथा अन्य रोगको परीक्षण गर्ने व्यवस्था मिलाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को जोखिम रोकथाम तथा गाउँपालिकामा भित्रन नदिनका लागि सहायता कक्ष स्थापना गरिएको उनले बताए ।
त्यस्तै अन्नपूर्ण गाउँपालिकाको मुख्य प्रवेशद्वार तिप्ल्याङमा पनि रघुगङ्गा गाउँपालिकाको सहकार्यमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताए ।
उनले तिप्ल्याङ अन्नपूर्ण गाउँपालिकासंगै मुस्ताङ्ग जिल्ला समेतको प्रवेशद्वार भएकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहायता कक्षले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।–रासस