नेपालगन्ज : पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ नेपालगन्जस्थित बागेश्वरी मन्दिर यतिबेला सुनसान छ । कुनैबेला श्रद्धालु भक्तजनको घुइँचो लाग्ने प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर लकडाउनका कारण अहिले सुनसान छ ।
लकडाउनलाई मध्यनजर गर्दै यहाँ स्थित धार्मिक शक्तिपीठमा अन्यदिन जस्तै भीडभाड नहुनुले पनि कोरोना विरुद्धको लडाईमा एक्यबद्धता रहेको प्रष्ट हुन्छ ।
कोरोना भाइरस संक्रमणका कारण संघीय सरकारले देश बन्दाबन्दी अर्थात लकडाउन गरेको छ भने बाँके प्रशासनले जनता कफ्र्यु लगाएकोछ । देशनै लकडाउन भएपछि पश्चिम नेपालकै नेपालगन्ज स्थित प्रशिद्ध शक्तिपीठ माता बागेश्वरी मन्दिरको नियमित पूजापाठ तथा सरसफाई बाहेक अन्य गतिविधि १८ दिनदेखि बन्द छ ।
सतीदेवीको जिब्रो पतन भएको स्थानमा स्थापना भएको मानिने बागेश्वरी मन्दिरमा श्रद्धा, भक्तिपूर्वक पूजा गर्नेको मनोकामना पूरा हुने जनविश्वास छ । मन्दिरमा विशेषगरि पूजापाठका लागि बाँकेलगायत दाङ्ग, सुर्खेत, दैलेख, बर्दिया लगायतका छिमेकी जिल्लाबाट श्रद्धालुहरु आउने गर्छन् । यस्तै छिमेकी देश भारतका नानपारा, बहराईन, लखनउ, लखिमपुर, श्रावस्ती तथा त्यसक्षेत्रका विभिन्न स्थानबाट भक्तजन पूजापाठ गर्न आउने गर्थे ।
बागेश्वरी मन्दिरमा दशैंको अष्टमी र नवमीका दिन पशु बलि दिने परम्परा छ । भने तिहार, तीज, जनैपूर्णीमा, शिवरात्री, छठ, वसन्तपञ्चमी लगायतका चाडपर्वमा श्रद्धालुको ठूलो भीड लाग्ने गर्छ । अझ बागेश्वरी मन्दिर परिसरमा सम्भवतः विश्वकै एक मात्र जुँगे महादेवको पूर्णकदको मूर्ती आकर्षणका रुपमा छ ।
बन्दाबन्दीका कारण मन्दिरमा नियमित भक्तजन तथा श्रद्धालुको उपस्थिती नभएपछि भक्तजनको भेटी आउन छोडेकोछ । यद्यपी मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनको भेटी खर्चको मूलआधार नभए पनि त्यसले महत्वपूर्ण अर्थ राख्ने गरेको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव गोपाल अधिकारी बताउँछन् ।
उनका अनुसार, मन्दिरको मासिक सरदर पाँच लाख रुपैयाँ खर्च भाडा मन्दिर परिसरसगं जोडिएको व्यवसायिक पसलले धान्ने गरेको छ । केही समय अघि सडक विस्तारका क्रममा मन्दिरको पूर्वदक्षिणतर्फ रहेका पसल भत्काइएको र त्यसको पुर्ननिर्माणले पूर्णता नपाएकाले खर्च धान्न केही कठिनाइ भएको सचिव अधिकारी बताउँछन् ।
लकडाउनअघि मन्दिरमा विशेष संकल्प गर्ने भक्तजनका लागि तोकिएको समयमा खुला दर्शन गर्न पाउने व्यवस्था हुन्थ्यो । तर, लकडाउनसगैं यतिबेला यो व्यवस्था पनि बन्द भएकोछ ।
लकडाउनका कारण नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमात्र नभइ नेपालगन्जमा रहेको शिख समुदायको गुरुनानक मन्दिर(गुरुद्वारा), बौद्ध धर्मावलम्बीको गुम्बा, मुस्लिम समुदायको मस्जिद र इसाई धर्मावलम्बीहरुको चर्च समेत बन्द छन् ।
धार्मिक सद्भावको शहरका रुपमा रहेको बाँकेको नेपालगन्जमा लकडाउनका कारण सवै धर्मका आस्थाका केन्द्र बन्द गरिनुले पनि कोरोना भाइरस विरुद्धको सरकारको कार्यमा थप सहयोगी रहेको जानकार बताउँछन् ।