नेपालगन्ज: यतिबेला विश्वभर कोरोना भाइरसको महामारी फैलिएकोछ । कोरोना भाइरस संक्रमण रोक्न विश्वका धेरै देश लकडाउन भएकोछ । तर, लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन ।
इन्डोनेसियाको केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालेको छ । पछिल्लो केही समययता जुनेली रातमा सेता ‘भूत’हरु सडकमा देखिन थालेको द साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । जाभा टापुमा अन्धविश्वास मान्ने मानिसरुलाई घरमा नै राख्न स्वयंसेवकहरुलाई ‘भूत’को रुपमा परिचालन गरिएको छ ।
सामाजिक दूरी कायम राख्न प्रहरीसँग मिलेर यो योजना ल्याइएको गाउँको युवा समूहका प्रमुख अन्जर पंकानिङटिएस बताउँछन् । उनीहरुले ‘पोकोङ’ को प्रयोग गरेर मानिसलाई घरबाट निस्किन डर देखाइरहेका छन् । इन्डोनेसियामा पोकोङ मानिसको ‘भूत’को प्रतीक हो । यो भूत सेतो कपडाले बेरिएको, अनुहारमा पाउडर दलेको र कैलो किसिमको आँखा भएको हुने विश्वास गरिन्छ ।
त्यहाँ धेरैले सामाजिक दूरी कायम गर्न मानिरहहेका छैनन् । मानिसमा कोरोना भाइरसबारे चेतना नभएकाले पनि घरमा नै राख्न कठिन भइरहेको अभियान्ताहरु बताउँछन् । यो जुक्तिले भने काम गरेको छ । मानिसहरु साँझको प्रार्थना सकेपछि आफ्ना बालबालिकालाई घरभित्रै राख्न थालेकाछन् ।
इन्डोनेसियामा चार हजार पाँच सयभन्दा बढीमा संक्रमण भएको छ भने ३ सय ९९ जनाको मृत्यु भएको छ । इन्डोनेसियाका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसका कारण मुलुकभर संक्रमितको संख्या १५ लाख नाघ्नसक्ने र उनीहरु मध्ये एक लाख ४० हजारभन्दा धेरै मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिइसकेको छ ।