नेपालगन्जः बाँके प्रहरीले नेपालगन्जमा रहेको कमला मेडिसिन शील गरेकोछ । कोरोना संक्रमणका बेला सरकारलाई निःशुल्करुपमा उपलब्ध गराएको ह्याण्ड सेनेटाइजर बिक्री गरेको पाइएपछि कमला मेडिसिनलाई शीलबन्दी गरेको हो ।
एसआर नामक ड्रग कम्पनीले निःशुल्करुपमा उपलब्ध गराएको सेनेटाइजर कमला मिडिसिनले विक्रीवितरण गरिरहेको थियो । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसख्या मन्त्रालयलाई निःशुल्करुपमा उपलब्ध गराएको उक्त ह्याण्ड सेनेटाइजर विक्रि गरिरहेको खबर पाएपछि बाँके प्रहरीले अनुसन्धान थालेको थियो । एसआर केयर ह्याण्ड सेनेटाइजर ५ सय एमएल प्रतिबोत्तल ६ सयमा बिक्री वितरण गरेको पाइएपछि प्रहरीले उक्त कम्पनीमा छापा मारेर शीलबन्दी गरेको हो ।
एसआर नामक ड्रग कम्पनीले सरकारलाई निः शुल्करुपमा उपलब्ध गराएको ह्याण्ड सेनेटाइजरको बोत्तलमा विक्रीका लागि होइन (नट फर सेल्स) समेत लेखेको भए पनि अर्को लेवल लगाएर छोपिएको अवस्थामा प्रतिबोत्तल रु ६ सयका दरले विक्री वितरण भइरहेको पाइएपछि प्रहरीले उक्त फर्ममा आज बुधबार शीलबन्दी गरेको जनाएको छ ।
सरकारलाई सहयोगस्वरुप उपलब्ध गराएको सेनेटाइजर सञ्चालक दीपेन्द्र अग्रवाल र केही निजी फर्म तथा व्यापारीहरुको मिलेमतोमा बिक्री गरेको पाइएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीले सामाजिक सञ्जालमार्फत गुनासो आएलगत्तै गरेको प्रारम्भीक अनुसन्धानपछि कमला मेडिसिनमा शीलबन्दी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले शीलबन्दीपछि छानविन भइरहेको जानकारी दिए । सरकारले निःशुल्करुपमा उपलब्ध गराएको सेनेटाइजर विक्री वितरण गरिरहेको भन्ने सूचना पाएलगत्तै बाँके प्रहरीले मंगलबार बेलुका कमला मेडिसिनमा छापा मारेको थियो ।
नेपालगन्जस्थित सुर्खेत रोडमा रहेको होटेल सिग्नेट इन कृष्णाका मालिकसमेत रहेका दीपेन्द्र अग्रवालले सञ्चालन गरेको ड्रग कम्पनीले लामो समयसम्म नेपालका बिभिन्न जिल्लामा औषधी सप्लाई गर्दै आइरहेको थियो । कोरोनाको संक्रमण बढेसँगै कमला मिडिसिनमार्फत ह्याण्ड सेनेटाइजर अवैधरुपमा बिक्री वितरण भएको पाइएको हो ।
छोटो समयमै ठूलो लाभ लिने मनसायले गरिएको अबैध धन्दाको पराकाष्ट हुदाँ यस क्षेत्रमै अग्रणी स्थानमा रहेको कमला मेडेसिन शिल भएकोछ ।