नेपालगन्जः विश्वब्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) लाई व्यवसायजन्य रोगमा सूचीकृत गर्न जनस्वास्थ्य तथा वातावरण प्रर्बद्धन केन्द्र(सिफेड)ले माग गरेकोछ ।
कोरोना भाइरस संक्रमणप्रति लक्षित गर्दै सिफेडले एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।
जनस्वासथ्य तथा वातावरण प्रर्बद्धन केन्द्र (सिफेड)का कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले जारी गरेको विज्ञप्तीमा भनिएकोछ–‘चिकित्सक, परिचारिका, पारामेडिकल एवं फोहर व्यवस्थापन लगायत अति आवश्यक सेवामा खटिने कर्मचारी प्रत्येक्ष संक्रमणको जोखिममा रहेकाछन् ।’
विज्ञप्तीमा भनिएकोछ–‘अति आवश्यक सेवा अन्तरगत प्रयोगशाला परीक्षण, एंम्बुलेन्स, शवगृह, शवदाहगृह, औषधी उत्पादन तथा विक्रीवितरण, खाद्यान्न, खानेपानी, ईन्धन, यातायात, सुरक्षा तथा सञ्चार माध्यम लगायतमा कार्यरत कर्मचारीहरु एवं मजदुरहरु जोखिममा रहेको भन्दै यसलाई व्यवसायजन्य रोगमा सूचीकृत गरिनुपर्छ ।’
विश्वका कैयौं मुलुकहरु जस्तै अमेरिका, कोरिया, फिलिपिन्स, मलेशिया आदि देशहरुमा यस कोभिड १९ रोगलाई कानूनी रुपमा नै व्यावसायजन्य रोगको रुपमा पहिचान गरी आवस्यक सुरक्षा, व्यक्तिगत सुरक्षा कवच र क्षतीपूर्तीको यथेष्ट सुनिश्चितता प्रदान गर्नुपर्ने वातावरण वैज्ञानिक साहको धारणा छ ।
यसको लागि सबै सरोकारवाला निकायहरुबाट सुनिस्चितता प्रदान गर्न गराउन अनुरोध गर्नुका साथै अहिले नै कार्यान्वयनको एकदमै उचित समय रहेकाले तत्काल कार्यान्वयनको लागि माग गरिएकोछ ।
केन्द्रले यसको कार्यान्वयन सम्बन्धममा अघि सारेका ४ मागहरु यस प्रकार छन् ।
(क) कोभिड १९ रोगलाई व्यावसायजन्य रोगको रुपमा कानून तहबाटै पहिचान प्रदान गर्ने ।
(ख) श्रम ऐन २०७४ को दफा ८२ र श्रम नियमावली २०७५ को नियम ५२ ले व्यावसायजन्य रोगको सूची श्रम मन्त्रालयलाई तयार पारी राजपत्रमा प्रकाशन गर्ने जिम्मेवारी दिँदा पनि हालसम्म सूची प्रकाशन नभएको अवस्थामा सो सम्बन्धि सूची तयार पारी कोभिड–१९ रोगलाई पनि व्यवसायजन्य रोगको रुपमा समावेश गर्ने गराउने ।
(ग) अग्र पंक्तिमा काम गर्ने चिकित्सक, परिचारिका, पारामेडिकल एवं फोहर व्यवस्थापन लगायत यस्तै महामारी एवं दैवि प्रकोपका बेला अन्य अति आवस्यक सेवा जस्तै प्रयोगशाला परीक्षण, एंम्बुलेन्स, शवगृह, शवदाहगृह, औषधी उत्पादन तथा विक्रीवितरण, खाद्यान्न, खानेपानी, ईन्धन, यातायात, एम्बुलेन्स, सुरक्षा तथा सञ्चार माध्यम आदिमा कार्यरत कर्मचारीहरु तथा संलग्न मजदुरहरु सबैलाई आवस्यक सुरक्षा, व्यक्तिगत सुरक्षा कवच (पीपीई) र क्षतीपूर्तीको सुनिस्चितता गर्ने गराउने ।
(घ) व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि आइएलओ कन्भेन्सन १५५ लाई यथाशिघ्र अनुमोदन गरी प्रभावकारी कार्यान्वयन गर्ने ।