नेपालगन्ज : बाँकेमा हालसम्म गरिएको कोरोना भाइरस संक्रमण परीक्षणमा सवै नेगेटिभ रिपोर्ट आएकोछ । योसगैं बाँकेमा कसैमा पनि कोरोना पोजेटिभ नभएको पुष्टि भएकोछ ।
कोरोना भाइरस आशंकित ब्यक्तिमा गरिएको परीक्षणमा शनिबार थप ९ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । योसँगै बाँकेमा ४ सय ९२ जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।
शनिबार पीसिआर बिधिबाट गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट नेगेटिभ देखिएको हो । यसअघि परीक्षणमै रहेका थप एक जनाको रिपोर्ट समेत नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार अन्य १३ जनाको रिपोर्ट आउन बाँकी छ ।
हरेक दिनको परीक्षणबाट नेगेटिभ रेकर्ड आउने क्रम बढ्दै गएपछि क्वारेन्टिन खाली हुने क्रम समेत बढेको छ । बाँकेको राप्तीसोनारी ८ पेडारीमा रहेको क्वारेन्टिन शनिबारबाट खाली भएको छ । क्वारेन्टिनमा रहेका सबैलाई सम्बन्धित जिल्ला पठाएपछि कवारेन्टिन खाली भएको हो ।
यसैबीच, बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा कोरोना भाइरस जाँचका लागि ल्याब स्थापना गरिएकोछ । उक्त ल्याबले भोली आईतबारदेखि आफ्नो सेवा दिने भेरी अस्पतालका मेसु डाक्टर प्रकाश बहादुर थापाले जानकारी दिए ।