भेरीबाटै अब कोरोना संक्रमण पुष्टि


भेरीबाटै अब कोरोना संक्रमण पुष्टि

भेरीमा कोरोना भाइरस जाँचका लागि तयार पारिएको ल्याब । तस्विर सौजन्यः मेसु डाक्टर प्रकाशबहादुर थापा

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका थप दुई स्थानबाट कोरोना संक्रमण देखिएका नमुनाको पुष्टि हुने जनाएकोछ । मन्त्रालयले पीसीआर मेसिनबाट परीक्षण गर्दा कोरोना भाइरस संक्रमण देखिएका नमुनाको पुष्टि गर्न थप दुई स्थान तोकेको हो ।

जसका लागि पीसीआर मेसिनमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएमा पश्चिममा नेपालगन्जस्थित भेरी अस्पताल र पूर्वको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाले यकिन गर्ने मन्त्रालयले आईतबार गरेको प्रेस ब्रिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका हुन् ।

उनका अनुसार–‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने प्रक्रिया झन्झटिलो र लामो हुने हुँदा आजबाट पश्चिमको नेपालगन्ज स्थित भेरी अस्पताल र पूर्वको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाले नै अन्य पीसीआरबाट आएका नमुना परीक्षण गरेर पुष्टि गर्ने कार्य तोकिएको छ ।’

यसअघि आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिँदा पुनः पीसीआरमा परीक्षण गर्दा समेत पोजेटिभ देखिएमा थप यकिन गर्न काठमाडौं स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

योसगैं बाँके लगायत प्रस्तावित लुम्बिनी प्रदेश, कर्णाली र सुदूर पश्चिम प्रदेशबाट नमुना परीक्षण गरिनेछ । शनिबार बेलुका ७ बजेदेखि सञ्चालनमा आएको नेपालगन्ज स्थित भेरी अस्पतालमा रहेको कोरोना जाँच ल्याबले आईतबार(आज) ८ वटा नमुना परीक्षण गरिरहेको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश बहादुर थापाले सेतोखरीलाई जानकारी दिए ।