नेपालगन्जः विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले देशभर लकडाउन लगाएकोछ । तर, सरकारले लगाएको लकडाउनको खुलम्म खुल्ला उल्लङ्घन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएकोछ ।
कोरोना भाइरस संक्रमणबाट आम नागरिकलाई बचाउन भन्दै सरकारले लगाएको लकडाउन तथा सामाजिक दूरीलाई बेप्रवाह उल्लङ्घन गर्दै मस्जिदमा नमाज पढ्ने कपिलवस्तुका १४ जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–७ स्थित मस्जिदमा सामूहिक नमाज पढ्ने १४ जनालाई आइतबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय, बकडीबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सबै मायादेवी गाउँपालिका–७ का स्थानीय हुन् ।
लकडाउनको समयमा मस्जिदमा प्रार्थना नगर्न पटक–पटक गरिएको आग्रह पालना नगरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तले जनाएकोछ । लकडाउनमा अटेरी गर्दै नमाज पढ्ने १४ जनालाई यतिबेला तौलिहवा स्थित वडा प्रहरी कार्यालयमा राखिएको छ ।
सरकराले लगाएको लकडाउन र सामाजिक दूरीका बाबजुत कपिलवस्तुका मस्जिद, मन्दिरलगायतमा भिडभाड बढेपछि प्रहरीले आफ्नो सक्रियता बढाएको हो ।
हालै सरकारले लकडाउन तथा सामाजिक दूरी पालना नगर्ने जोकोहीलाई ठाँउका ठाँउ नियन्त्रणमा लिई मुद्दा चलाउने र सजाय तथा जरिवाना समेत गराउने बताएको थियो । अझ पनि देशका विभिन्न ग्रामीण भागमा रहेका मन्दिर, मस्जिद, चर्च लगायतका क्षेत्रमा अनावश्यक भीडभाड गर्ने, पूजापाठ गर्ने, नमाज पढ्ने, संगती गर्ने जस्ता कार्य भइरहेकाछन् । यस्ता कार्य नरोकिए कोरोना भाइरस संक्रमणको जोखिम झन बढेर जाने जानकार बताउँछन् ।