जानकी (बाँके): कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित नागरिकलाई सोमबारदेखि राहत वितरण शुरु गरेको छ ।
बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर ४ खजुराखुद्र्ध र वडा नम्बर ५ बेलहरीमा लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी कामगरी खाने श्रमिक र विपन्न समुदायका नागरिकलाई राहत वितरण शुरु गरिएको हो ।
गाँउपालिका अध्यक्ष रामनिवास यादवका अनुसार सोमबारदेखि राहत वितरण शुरु गरिएको छ । उनका अनुसार यसअघि वडाबाट सङ्कलन गरिएको तथ्याङ्कका आधारमा वास्तविक प्रभावितहरुलाई विवादरहित तरिकाले सम्बन्धित वडा कार्यालयहरुबाटै राहत वितरण गर्न थालिएको छ ।
जानकी गाँउपालिकाको वडा नम्बर ६ गनापुर, वडा नम्बर ३ इन्द्रपुर, वडा नम्बर २ बेलभार र वडा नम्बर १ साईगाउँमा भोली मङ्गलवारबाट राहत वितरण गर्ने तयारी गरिएको उपाध्यक्ष भूमीसरा धितालले जानकारी दिइन । ती वडाका लागि सोमबार राहत प्याकिङको काम भईरहेको छ । सामाजिक दूरी कायम गरी व्यवस्थित तरिकाले राहत वितरण कार्य भईरहेको उपाध्यक्ष धितालको भनाई छ ।
गाउँपालिकाका तीन हजार १२ घरधुरीलाई अत्यावश्यकीय खाद्य सामाग्री वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । उनका अनुसार राहत प्याकेजमा प्रतिपरिवार ५ जना परिवार सदस्य सङ्ख्या रहेकोलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिन दिईने छ ।
पाँच जनाभन्दा बढी परिवार सदस्य सङ्ख्या रहेको परिवारलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिनका दरले राहत बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए ।
वडापालिकाले सङ्कलन गरेको अभिलेख अनुसार, वडा नम्बर १ मा ३ सय ३४, वडा नम्बर २ मा ६ सय ५८, वडा नम्बर ३ मा ८ सय ६१, वडा नम्बर ४ मा ४ सय तीन, वडा नम्बर ५ मा ४ सय २० र वडा नम्बर ६ मा ३ सय ३६ घरपरिवार गरि जम्मा ३ हजार १२ घरधुरीलाई राहत बितरण गरिने छ ।
गाउँपालिका अध्यक्ष यादवले विवादरहित तरिकाले वास्तविक प्रभावितलाई राहत वितरण गर्नको लागि अभिलेख सङ्कलन गरिएको बताए । उनले गाउँपालिकाले कोरोना नियन्त्रण तथा राहत बितरण कार्यविधि–२०७६ को मापदण्ड अनुसार राहत बितरण गर्न लागेको बताए ।
उनका अनुसार, प्रत्येक वडापालिकाले कार्यविधिको मापदण्ड अनुसार आ–आफ्ना वडामा रहेका ज्यालादारी मजदूरी गर्ने तथा बिपन्न गरिव परिवारको अभिलेखका आधारमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधि समेतको रोहवरमा वडा कार्यालयबाट राहत वितरण गर्ने कार्य भईरहेको छ ।
सोमबार बिहान वडा कार्यालयबाट गरिब, विपन्न र दैनिक ज्यालादारी मजदुरी गरेर खाने ५२ परिवारलाई राहत वितरण भएको वडा नम्बर ४ का वडाध्यक्ष विश्रामकुमार वर्माले बताए । साँझ र विहानमा सामाजिक दूरी कायम गरी क्रमिक रूपमा राहत वितरण गरिएको उनले बताए ।