नेपालगन्ज: बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा हालसम्म परीक्षण गरिएका सबै कोरोना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । पश्चिम नेपालमै पहिलो पटक बैशाख ७ गतेबाट भेरी अस्पतालमा कोरोना आंशकित ब्यक्तिको पीसिआर परीक्षण गर्दा हालसम्म बाँकेमा कसैलाई पनि कोरोना भाइरस भएको पुष्टि भएको छैन ।
नेपालगन्ज स्थित भेरी अस्पतालमा कोरोना आशंकित ब्यक्तिको परीक्षण गर्दा यस्तो देखिएको हो । बुधबार मात्रै १२ जनाको स्याम्पल परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
बाँकेमा बुधबारसम्म भएका सबै परीक्षणमा ५ सय ३० जनाको कोरोना सम्बन्धि रिपोर्ट ‘नेगेटिभ’ आएको छ । यो बाँकेबासी लगायत देशका लागि खुसीको कुरा हो ।
कोरोना भाइरस सम्बन्धि बाँकेमा गरिएको आरडिटी बिधिबाट ४ सय २७ जना र पिसिआर विधिबाट १ सय ३ जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पतालमै परीक्षण गरिएका बर्दियाका २ र दाङका ५ जनाकोे रिपोर्ट समेत नेगेटिभ देखिएको छ । तर, विशेष गरि बाँकेको नेपालगन्जमा सरकारले लगाएको लकडाउन र सामाजिक दूरीको पूर्ण पालना गरिएको छैन । सामाजिक दूरी तथा लकडाउनलाई उल्लङघन गर्दै सर्वसाधरणको घुईचो लाग्ने गरेकोछ । यद्यपी बाँके प्रशासनले बेलुका ४ बजेपछि मेडिकल बाहेक सवै अत्यावश्यक पसल बन्द गरेकोछ ।